म लोक सेवा फेल भएँ



म लोक सेवा फेल भएँ

साथीले भन्यो पत्रिकामा नाम छैन

म भन्छु…

फाल्दे पत्रिका त्यसको काम छैन

राधा बोक्सी बन्ने देशमा

संविधानका धाराको काम आएन

अँध्यारो कोठामा बसेर पढियो

जहाँ कहिल्यै घाम आएन

तर साथी भन्छ…

पत्रिकामा तेरो नाम आएन

साउथ चाइना सी थियो किताबमा

कोशी थिएन

पढ्ने उत्कट इच्छा मेरो दोषी थिएन

भूमध्य सागरको गहिराइ था’छ तर पसेको हैन

हिरोसिमाको कथा था’छ तर मैले देख्दादेख्दै एटम बम्ब खसेको हैन

पृथ्वीमा सबभन्दा तातो कहिले भयो ?

मलाई था’छ…न म यसलाई तताउन अनि सेलाउन सक्छु

संसार भरिका देशका सीमा केशका झैँ केस्रा केलाउन सक्छु

मलाई मिति कण्ठाग्र छ जङ्गबादुरले सु गरेको

फेतुल्लाह गुलेन था छ टर्कीमा कू गरेको

रकेटदेखि खाली पकेटसम्म

डलरदेखि मैलिएको कलरसम्म

आकाशको मङ्गलदेखि अफ्रिकाको जङ्गलसम्म

कण्ठ पार्दै रहेँ

तर साथी सुनाउँछ…म त फेल भएँ

मूर्तिका नाम, मान्छेका नाम

किताबका राजाका भान्छेका नाम

अलेक्जेण्डरले बोलेको देखि सिंहदरबार पोलेकोसम्म

कोशीको बाँध भत्केकोदेखि ब्यारेजका ढोका खोलेकोसम्म

याङ्सीको लम्बाइदेखि आमेजनको चौडाइसम्म

ऐलिजाबेथको हिँडाईदेखि बोल्टको दौडाईसम्म

मिति था’छ गण्डक बाँध ‘असल छिमेकी’ले थुनेको

प्रताप मल्लले १५ भाषा बोलेको त मैले नै सुनेको

व्यासजीले १८ पुराण मेरै कोठामा लेखेको

कृष्ण मन्दिरमा गजुर हालेको त मेरै आँखाले देखेको

कार्ल मार्क्सको दाह्रीको केस्रा

शेक्सपियरले कोरेको खेस्रा

हिरोहितोको दनकदेखि हिटलरको सनकसम्म

सबै-सबै कण्ठ भो

देश चिथोर्नेहरूको नाम सम्झन नै लण्ठा भो

देश डुब्दा सँगै डुबियो, बल्दा सँगै तापियो

यति पढियो भुत्रो नापियो…नाम त अर्कैको पो छापियो

विभिन्न नामका मल्लैमल्ल

पढ्दापढ्दै अलमल्ल

कोही मन्दिर ठड्याउने कोही गजुर सिउरिने

मल्ल खलकले अचानक बनाए समाज अघि निहुरिने

महिन्द्र मल्ल ढुङ्गामा सुते, द्रव्य शाह गोर्खामा कुदे

जगज्योति पासामा जुधे, के-के पढियो पाँड्का फूँदे

सिँहदरबार जलाएर कीर्तिनिधिले तापेको

काष्ठमण्डप अड्याउन लक्ष्मीनरसिंले काँध थापेको

वीरगञ्जको ताप्के, चैनपुरको करुवा

हिटलरको युद्धपोत, प्रचण्डको भरुवा

गुल्मीको कफी पिइयो, इलामको चिया

लेकिन आज आकर लोक सेवा ने इतना धोका दिया

रात और दिन पढाया बड्का-बड्का ठेली

एक्जाम दिलाया कपी चेक करने बनगया साला झेली

विश्व व्रम्हाण्ड सारा घुलाकर हमने उत्तर लेखा

दारू पिके चेक किया उसने राइटको रङ देखा

दस प्रश्नोँका गोली दागा, हमने छाती थापदिया

चार महिनातक वेट कराया लेकिन दुसरेका नाम छापदिया

उसले अधिकृत बनाएन, आफैँ त्यत्तिकै बन्न पनि गाह्रो

समाज सामु लोकसेवा थर्ड इयर भन्न पनि गाह्रो

महाभारतका पात्रसँग भट्टीमा बारम्बार हात मिलाइयो

पास भइयो घोषणा बाँकी भन्दै पाण्डवलाई दारू पिलाइयो

झर्ला पानी भन्दै जाँचियो संविधानका सुकेका धारा

ग्लोब जस्तै घुम्छ टाउको आँखा अघि तारैतारा

यो संसारका कुना काप्चा एक-एक गर्दै ध्यानमा आयो

भूकम्प गयो ७२ सालमा पराकम्प अहिले ज्यानमा आयो

मिसिसिपी,पराना, जाम्बेजी र कङ्गो

घुमाएर सोध्यो प्रश्न, उत्तर झनै बाङ्गो

महासागर हाम्फालेर फित्ता लिएर गहिराइ नापियो

याकुत्स्कमा सिरक खापियो, अफ्रिकाको घाम तापियो

टङ्कन, मुद्रण खै के भाको हो नाम त फ्याट्ट अर्कैको पो छापियो !!!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्