दाहाल समूहका ३ नेतालाई मन्त्री बनाई आफूतिर तान्ने खेलमा ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दशैँलगत्तै मन्त्रीपरिषद हेरफेर गर्न लागेका छन् । स्रोतका अनुसार उनले पार्टीको निर्देशन वा शीर्ष तहमा छलफल गरेर सहमतिमा मन्त्री थप्न लागेको नभई केही पूर्वमाओवादी नेतालाई उपहारस्वरुप मन्त्री बनाउन लागेका हुन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षका तीन नेतालाई आफ्नो पक्षमा तानेर ओलीले सरकार र पार्टीमा आफ्नो वर्चस्व बढाउन लागेका छन् । केही राज्यमन्त्री हटाउने र केही मन्त्रालय टुक्राएर भएपनि मन्त्रीको संख्या बढाउने योजनामा रहेको ओलीनिकट स्रोतको दावी छ । ओलीको कार्यशैलीलाई लिएर नेकपाभित्र पछिल्लो समय बोलचाल समेत बन्द हुँदै गएको अवस्था छ । तर ओलीले दाहाल र माधव नेपाल पक्षका नेतालाई मन्त्री पद देखाएर फकाउन थालेपछि यो समूह थप उत्तेजित हुनसक्ने अनुमान गरिएको छ ।

ओलीले सुरुमा दाहाल–नेपाल समूहलाई संघीय मन्त्रीपरिषद, राजनीतिक नियुक्ति र प्रदेशका मुख्यमन्त्रीमा भागबण्डा मिलाउने आश्वासन दिने गरेको भएपनि निर्णय गर्दा एकलौटी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले अबको मन्त्रीपरिषद हेरफेरमा पनि दाहाल–नेपाल समूहलाई पन्छाएर गरेर अगाडी बढ्ने संकेत गरिसकेका छन् ।

स्रोतका अनुसार दशैंलगत्तै पूर्वमाओवादीका नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र प्रभु साहलाई मन्त्री बनाउने आश्वासन गइसकेको छ । गजुरेल दाहालका प्रिय नेता मानिन्थे भने रायमाझी र शाह माओवादी आन्दोलन भर डा.बाबुराम भट्टराई पक्ष भनेर चिनिन्थे ।

डा.भट्टराई माओवादीमा हुँदासम्म र माओवादीले सत्तामा अवसर पाउँदा रायमाझी र साहले भट्टराईको मान्छे बनेरै पटक–पटक मन्त्री बन्ने अवसर पाएका थिए । रौतहटबाट प्रतिनिधित्व गर्ने प्रभु साह मधेसमा पकड भएको नेता हुन् । उनलाई ओलीले आफ्नो पक्षमा तानेपछि वरिष्ठ नेता माधव नेपालको पनि गृह जिल्ला भएकोले रौतहटसहित तराईका अन्य जिल्लामा समेत ओलीको पकड हुने अनुमान गरिएको छ ।

सिन्धुलीका नेता गजुरेल र अर्घाखाँचीका रायमाझीलाई पनि तानेपछि दाहादलाई थप कमजोर बनाउन सकिने विश्लेषण ओली पक्षको छ । यसअघि नै प्रचण्डका विश्वासपात्र ठानिएका केही नेता ओली समूहमा खुलेरै लागेका छन् । उद्योग मन्त्री लेखराज भट्टले त खुलेरै दाहलसँग नरहेको सार्वजनिक रुपमै बोलिसकेका छन् ।

यता दाहाल–नेपाल समूहले पनि दशैंलगत्तै प्रधानमन्त्री ओलीसँग वारपार गर्ने मनस्थिति बनाइसकेको छ । प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने वा पार्टी र प्रधानमन्त्री दुवैबाट हटाउन पार्टीको बैठक बोलाउने भन्ने छलफल दाहला–नेपाल समूहभित्र सुरु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्