चौरसियाका हत्यारालाई एसपी पन्तको संरक्षण !



काठमाडौं, ११ कार्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विन्ध्याबासिनी गाउँपालिका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाका हत्याराको जाहेरी बुझ्न नमानेको भन्दै पर्साका नेकपाका कार्यकर्ताले एसपी गंगा पन्तको पुत्ला जलाएका छन्।

एसपी पन्तले हत्यारालाई बचाउन खोजेको भन्दै वीरगञ्जमा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। हत्या भएको एक साता बितिसक्दा पनि चौरासियाको शव वीरगञ्जको नारायणी अस्पतालको शवगृहमा राखिएको छ। सपथ ग्रहण समारोहमा भएको झडपका क्रममा यही कार्तिक ६ गते नेकपाका स्थानीय नेता चौरसियाको हत्या भएको थियो। तर, एसपी पन्तका कारण हालसम्म हत्याको जाहेरी दर्ता हुन सकेको छैन।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले चौरसियाका हत्यारालाई कानुनी कार्वाही गर्न माग गर्दै विज्ञप्ति नै जारी गरिसकेका छन्। तर, एपसी पन्तमा रहेको चरम राजनीतिक पूर्वाग्रहका कारण हत्याको एक साता बितिसक्दा पनि उनले घटनाप्रति उदासिनता देखाइरहेकी छिन्। प्रहरी अधिकृतभन्दा राजनीतिक कार्यकर्ताको भूमिकामा रहेकी पन्त यसअघि पनि पटकपटक विवादमा आएकी थिइन्।

पर्वत जिल्लामा डिएसपी रहँदा ढुंगा, गिटी, बालुवामा तस्करी गरेको आरोप लागेकी पन्तले नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा ‘रिप’ भन्दै श्रद्धाञ्जली दिएकी थिइन्। जतिसुकै अमर्यादित र अनुशासनहिन काम गरे पनि राजनीतिक संरक्षण पाएर उनी एकपछि अर्को अपराध संरक्षणतिर लागेको भन्दै प्रहरी अधिकृतहरुले नै पटकपटक प्रश्न उठाउँदै आएका थिए। तर, पर्साको प्रहरी प्रमुख भएपछि पनि उनी विवादमुक्त हुन सकिनन्।

पर्सा जिल्ला सुरक्षा संवेदनशीलताका हिसाबले रणनीतिक महत्वको जिल्ला मानिन्छ। त्यस्तो जिल्लामा शान्ति सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा एपसी पन्त खुलेरै अपराधी बचाउन लागेको भन्दै चर्को विरोध भएको छ। विगत पाँच दिनदेखि पन्तका विरुद्ध वीरगञ्जमा आन्दोलन भए पनि प्रहरीको उच्च नेतृत्व भने कानमा तेल हालेर बसेको छ।

चौरसियाका हत्यारालाई संरक्षण गरिएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत स्वतन्त्र छानविनको माग गरेका छन्। तर, सत्ताको आडमा उनले मृतकका परिवारलाई न्याय दिनुको सट्टा उल्टो अपराधीको बचाउ गरिरहेकी छिन्। पर्सा जिल्लाका नागरिक अगुवाहरुले समेत प्रहरी प्रमुखको भूमिका स्वतन्त्र नहुँदा जिल्लामा शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।

पार्टीको गाउँपालिका समितिको सपथ ग्रहण कार्यक्रममा भएको दुई पक्षको झडपमा परेर गम्भिर घाइते भएका चौरसियाको वीरगञ्जको पानीट्यांकीमा अवस्थित एलएस न्युरो अस्पतालम उपचारको क्रममा निधन भएको थियो। त्यसलगत्तै चौरासियाका आफन्तले हत्याका अभियुक्तहरुको नामै किटान गरेर प्रहरीमा जाहेरी दिन खोजेका थिए। तर, पन्तकै कारण आजसम्म प्रहरीमा उजुरी दर्ता हुन सकेको छैन।

यता सत्तारुढ दल नेकपाका नेता–कार्यकर्ता हत्यारालाई कडाभन्दा कडा कार्वाही हुनुपर्ने मागसहित दिनहुँजसो धर्नामा छन्। नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका यादव स्वयं पीडितका परिवारले न्याय पाउनुपर्ने मागसहित धर्नामा छन्।

न्यायको मागसहित धर्नामा बसेको प्रदर्शनकारीहरुले मंगलबार एसपी पन्तको पुत्ला जलाएका छन्। प्रदर्शनमा उनीहरुले चौरसियाका आफन्तले न्याय पाउनुपर्ने, एसपी पन्तमाथि कार्वाही हुनुपर्ने माग राखेका छन्। उनीहरुले प्रहरी प्रमुख नै हत्याराको पक्षमा उभिनु दुर्भाग्यपूर्ण भएको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिएका छन्।

प्रदर्शनमा सहभागी पूर्वमन्त्री यादवले हत्यारामाथि कानुनी कार्वाही नभए सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। चौरसियाका आफन्तले आफूहरुको जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने अडानमा छन्, जसका कारण एक हप्तादेखि चौरसियाको शव उठ्न सकेको छैन।

हत्याको एक हप्ता भइसक्दा पनि प्रहरीको उच्च नेतृत्व पर्सा घटनामा मौन देखिन्छ। प्रहरी प्रमुखले नै जाहेरी लिन नमान्दा, स्थानीयले प्रहरी प्रमुखका विरुद्ध नै आन्दोलन गर्दासमेत प्रहरी महानिरीक्षक शैलेस थापाले कुनै सदारुकता देखाएका छैनन्। पर्सा घटनाले प्रहरीको छविमाथि नै धक्का लाग्ने खतरा देख्दासमेत महानिरीक्षक थापा मौन रहनुले परिस्थिति झन् असहज बन्नसक्ने भन्दै स्थानीय अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन्। लाेकपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्