नेपालमा प्रत्यक दिन १८ जनाले गर्छन् आत्महत्या, हेर्नुस् २ वर्षको डरलाग्दो तथ्यांक



काठमाडौं । नेपालमा प्रत्येक दिन १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको साउन र भदौको तथ्याङ्क हेर्दा दैनिक औसतमा १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको हो ।

आर्थिक वर्ष ०७५–७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरे । जसमा ३१ सय २३ पुरुष र २२ सय ३ महिला रहेको प्रहरी अभिलेखले देखाउँछ । यो समयको तथ्याङ्क विश्लेषण गर्दा दैनिक औसतमा १५ दशमलव ८४ अर्थात् १६ जनाले आत्महत्याबाट ज्यान गुमाएको देखिन्छ । आर्थिक वर्ष ०७६–७७ मा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ ।

यो अवधिमा ६ हजार २७९ जनाले आत्महत्या गरे । यो ०७५–७६ को तुलनामा ४९४ ले बढी थियो । यो वर्ष ३४ सय १९ पुरुष र २९ सय ९८ जना महिलाले आत्महत्या गरे । यसबाहेक अरु बालबालिका छन् । औसतमा भन्ने हो भने यो वर्ष प्रत्येक दिन १७ जना बढीले आत्महत्या गरेको पाइएको छ । चालु आर्थिक वर्षको दुई महिनाको आत्महत्याको तथ्याङ्क भने झनै डरलाग्दो छ ।

आत्महत्याको दर बढ्दो छ । गत साउनमा ७ सय ९ र भदौमा ६१२ जनाले आत्महत्या गरे । दुई महिनाको अवधिमा १३ सय २१ जनाले आत्महत्या गरे भने दैनिक औसतमा २२ जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ । आत्महत्या गर्नेमा झुन्डिएर गर्नेहरु बढी छन् ।

नेपाल विश्‍वमा बढी आत्महत्या गर्ने देशहरूमा शीर्ष १० भित्र पर्छ । पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्‍न गरेका कारणहरु पनि रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

व्यापारमा भएको घाटा, बैंकको ऋणलगायत कारण कतिपयले आत्महत्याको बाटो रोजेका छन् । तर धेरैजसो कारण भने प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था रहेको पाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्