कैलाली । भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको बताए ।
उनका अनुसार चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । अन्सारी टीकापुर नगरपालिका–७ मा बस्दै आएका छन् ।
नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुशीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी हुन् । जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।