खुल्न थाले पर्यटकीय क्षेत्र



कात्तिक १४, काठमाडौँ । कोरोना कहरका कारण बन्द भएका चितवनका पर्यटकीय क्षेत्र धमाधम खुल्न थालेका छन् । वन्यजन्तु अवलोकनका लागि चितवन पहिलो पर्यटकीय गन्तव्य हो ।

निकुञ्ज आसपासका सौराहा, पटिहानी, मेघौली र नवलपुरको अमलटारीमा पर्यटकको राम्रै चहलपहल हुन्छ । कोरोना कहरका कारण चैत ११ मा लकडाउन भएसँगै बन्द रहेका यी क्षेत्र केही एक महिनाअघि खुले । बाँकी रहेका पनि खुल्न थालेका छन् ।

‘अम्ब्रेला स्ट्रिट’ चितवनको सबैभन्दा नयाँ पर्यटकीय गन्तव्य हो । भरतपुर महानगरपालिका–२२ पटिहानीको राप्ती किनारमा रहेको ‘अम्ब्रेला स्ट्रिट’ मा जाने र फोटो खिचेर सामाजिक सञ्जालहरूमा राख्ने चलन बढेको थियो । रंगीबिरंगी छाताले ढाकेको छाना पार गरेर राप्ती किनार पुगेपछि साँझपखको सुनौलो सूर्यास्त नियाल्न पाइन्छ । आडैमा चितवन निकुञ्जको जंगल छ । त्यहाँ पुगेपछि चित्तल र गैंडासमेत चर्दै गरेको र चराहरू कावा खाँदै गरेको पनि देखिन्छ ।

यस्ता आकर्षणले चितवन, आसपासका र अन्य जिल्लाका साथै विदेशी पर्यटक पनि पटिहानी गएर ‘अम्ब्रेला स्ट्रिट’ घुम्न निस्कन्थे । तर फागुनमा उद्घाटन भएको यो ‘अम्ब्रेला स्ट्रिट’ कोभिड कहरको मारमा पर्‍यो । उद्घाटनको एक महिना पार भएलगत्तै पर्यटकका लागि ‘अम्ब्रेला स्ट्रिट’ को ढोका बन्द भयो । अब यो ढोका पनि खुल्ने भएको छ । तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने सर्त मान्नुपर्ने हुन्छ ।

‘व्यक्ति व्यक्तिबीच दूरी कायम हुने हिसाबले भित्र मान्छे छिर्न दिइनेछ । कोरोना संक्रमणको जोखिम रोक्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्ने हुन्छ,’ पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले भने, ‘हामी पर्यटकीय गतिविधि शुरू गर्दै छौं । तर कोरोना जोखिमको पनि ख्याल राखेका छौं ।’

चितवन घुम्न आउने पर्यटक हात्ती चढेर जंगल घुम्न रमाउँछन् । राप्ती नदीमा डुंगा सयर पनि हुने गर्छ । हात्ती सफारी र डुंगा असोजको पहिलो साता खुलेका थिए । निकुञ्जभित्र हुने जिप सफारी कात्तिक पहिलो साताबाट खुलेको थियो । दसैं–तिहारको मेसोमा असोज–कात्तिकमा सर्वाधिक पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् । गत वर्ष कात्तिकमा ३६ हजार पर्यटक निकुञ्ज घुमेका थिए ।

निकुञ्ज घुम्नेमध्ये ९० प्रतिशत पर्यटक सौराहा जान्छन् । केही दिनयता दिनमा सरदर पाँच सय जनाले निकुञ्ज घुम्न शुरू गरेको चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख रहेका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए । ‘नभए दिनमा सय जना पुग्न गाह्रो थियो । दसैंका कारण सामान्य चहलपहल बढेको छ,’ उनले भने । मुख्य सिजन भए पनि अघिल्ला वर्षको तुलनामा एकतिहाइ पनि पर्यटक छैनन् । फूलपातीदेखि निकुञ्जभित्र जिप सफारी शुरू भएको निकुञ्ज सफारी प्रालिका अध्यक्ष गोपाल श्रेष्ठको भनाइ छ । निकुञ्जभित्र सफारी सञ्चालन गर्न दुई वटा कम्पनीका ३२ वटा जिप छन् । अघिल्ला वर्षहरूमा ३२ वटैलाई फुर्सद हुँदैनथ्यो ।

निकुञ्ज घुम्न आउने प्रायः पर्यटक हात्ती सफारी गर्छन् । सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वन हात्ती सफारीको प्रमुख क्षेत्र हो । यहाँ असोज ७ बाट हात्ती सफारी शुरू भएको थियो । असोजसम्म फाटफुट पर्यटक आए पनि दसैंसँगै चहलपहल बढेको सामुदायिक वनका अध्यक्ष जितु तमाङ बताउँछन् । शून्य अवस्थामा रहेको चितवनको पर्यटन दसैं–तिहारका कारणले घस्रने अवस्थामा पुगेको युनाइटेड हात्ती सञ्चालक सहकारी संघ लिका अध्यक्ष ऋषि तिवारीको भनाइ छ । मान्छेहरू घुम्न लालायित हुने गरेको उनको अनुभव छ ।

शुरू हुँदै चहलपहल
इलाम– मौसममा सुधार आउनासाथ असोज दोस्रो सातादेखि इलाम नगरपालिका–३ स्थित पुवामझुवाको दिदीबहिनी (महभीर) झरनामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । कोरोना महामारीको पट्यारलाग्दो समय र लामो मनसुनका कारण अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्केकाहरू पनि मन बहलाउन निस्किएका हुन् ।

पछिल्लो समय चर्चामा रहेको यो झरनासम्म सदरमुकाम इलाम बजारसहित झापा र पूर्वका विभिन्न स्थानबाट आउने क्रम बढ्दै छ । करिब २ सय मिटरको अन्तरमा रहेका यी झरनाको दृश्य यसअघि खासै प्रचारमा आएन । तर कोभिड–१९ को संक्रमण र भारी वर्षापछि भने एकाएक रूपमा यी झरना आन्तरिक पर्यटकको रोजाइमा परे ।

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा पनि स्वास्थ्य सावधानी अपनाएर भए पनि झरनामा पुग्ने बाक्लिँदै गएका छन् । यससँगै झरना क्षेत्र वरपर रहेका ससाना खाजा घर, चिया पसल आदि सञ्चालनमा आए । मेची राजमार्गमै रहेको बाघखोर बजारका होटलमा पनि चहलपहल बढ्दै गएको छ । यता पूर्वी कन्याम, अन्तुलगायत क्षेत्रमा पनि पर्यटक फाटफुट रूपमा जान थालेका छन् । अन्तु डाँडामा बुधबार बिहान एक हजारभन्दा धेरैले सूर्योदयको दृश्यावलोकन गरेको स्थानीयले बताए ।

‘अन्तुको रमणीयतामा रम्न आउने क्रम बढेको छ,’ पर्यटन व्यवसायी रुद्र घिमिरेले भने, ‘सकेसम्म कोरोना फैलन नदिन सुरक्षा सजगता अपनाइएको छ ।’ तर यही हिसाबमा पर्यटक आवगमन बढ्दै गए सुरक्षा सतर्कता अपनाउन पनि समस्या हुने उनको भनाइ छ । कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले खबर लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्