मुलुकको सम्वृद्धि वाम गठबन्धनको अग्नि परीक्षाः दाहाल



सैघाली खबर,
काठमाणडौ १५ पुस।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायीत्व कायम गरी मुलुकलाई सम्वृद्धिको बाटोमा उन्मुख गराउने विषय वाम गठबन्धन सरकारका लागि अग्नि परीक्षा भएको बताएका छन्।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित नेपाल नवनिर्माण महाअभियान पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब बन्ने बाम गठबन्धनको सरकारका लागि राजनीतिक स्थायीत्व कायम गरी मुलुकलाई आर्थिक सम्वृद्धि तर्फ लैजाने सवाल एउटा अग्नि परीक्षा रहेको बताएका हुन्।

शान्ति, सुसासन र सम्वृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरि पनि दुर्घटनामा पर्न सक्ने खतरा उत्तिकै रहेको भन्दै उनले ऐतिहासिक चुनौति र अवसर दुवै वामगठबन्धनको सरकारका अगाडि रहेको बताए। सम्वृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साँच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने भन्दै उनले उल्लेख गरे। राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शिता कायम गर्नमा नै आफूहरुको सम्पूर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए।

एमाले उपाध्यक्ष गौतमको पुस्तकमा पनि नेपालमा विकासको नया गति सुरु भएन भने देश निकै अप्ठ्यारोमा पर्न पनि सक्छ भन्ने मान्यता अनुसार विकासको १० बर्षे कार्ययोजना प्रस्तुत भएको आफुले पाएको अध्यक्ष दाहालले बताए।

दाहालले एमाले उपाध्यक्ष गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोर्नुपरेको पराजयप्रति सहानुभूति पनि जनाए। यद्यपि उनले गौतमको नेपाल नवनिर्माण गर्ने चाहना पूरा गराउने सवालमा उपयुक्त वातावरण बनाउने प्रतिवद्धता पनि जनाए।

एमाले उपाध्यक्ष गौतमले मुलुकको आर्थिक विकासमा केन्द्रित भई लेखेका ‘नेपाल नव निर्माण महाअभियान’ पुस्तक शनिबार राजधानीमा विशेष समारोहकाबीच सार्वजनिक भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्