गरिबका छोराछोरीको ज्याती बनेको ज्ञान ज्योती



 

दिपक बोहरा,

तुलसीपुर, १६ पुस । दाङका शिक्षा अधिकारी रमेश मैनालीसँग दाङ पश्चिम क्षेत्रका विद्यालयको अनुगमन गर्न जाने अवसर मिल्यो । अनुगमनका क्रममा शिक्षा अधिकारी मैनालीले पश्चिमका विद्यालयलाई उदाहरण दिए ‘विद्यालयलाई सुधार गर्ने हो भने, तुलसीपुरको ज्ञानज्योती प्राविलाई अवलोकन गर्नुहोस् ।’ उनले अनुगमनका क्रममा अब्यवस्थित रहेका धेरै सामुदायिक विद्यालयमा पुग्दा दाङका नमुना सामुदायिक विद्यालयको अवलोकन गर्न आग्रह गर्छन् । राप्ती समाचार राष्ट्रिय दैनिकमा खबर छ ।

शिक्षा अधिकारीले नमुना विद्यालयका रुपमा लिने एउटा नाम हो ‘तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगरमा रहेको ज्ञान ज्योती प्रावि ।’

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको अवस्थामा पनि त्यो विद्यालयमा विद्यार्थीको संख्या निजी विद्यालयभन्दा कम छैन । विद्यालयले निजी विद्यालयलाई चुनौती दिएको छ । अहिले हरेक विद्यालयले ज्ञानज्योतीबाट पाठ सिक्न सोही विद्यालयको अवलोकन गर्न आउने गरेको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए । व्यवस्थापन समिति, अभिभावकको सहयोग र ईच्छाले गर्दा नै विद्यालयलाई व्यवस्थित र प्रभावकारी शिक्षा दिन सकिएको प्रअ घिमिरेले बताए ।

त्यो विद्यालयको संस्कार, सामुदायिक विद्यालय व्यवस्थापन गर्ने कला, विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे ज्ञान लिन धेरै विद्यालयहरु त्यहाँ पुग्ने गरेको सोही विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए । ‘अहिले धेरै विद्यालयबाट शिक्षकहरु अवलोकन गर्न आउनु हुन्छ’ उनले भने ‘शिक्षा अधिकारी पनि यहाँ आएर अवलोकन गर्नुभयो, विद्यालयको व्यवस्थापन देखेर प्रशंसा गर्नुभयो ।’

पातुखोलाको किनारमा रहेको उक्त विद्यालय जग्गाको अभावमा करिब एक कठ्ठामा सीमित छ । तर थोरै जग्गाका धेरै व्यवस्थापन भएका छन् । चिटिक्क परेको विद्यालय र त्योभित्रका व्यवस्थापन पनि निकै राम्रो र आकर्षक भएको शिक्षा अधिकारी मैनालीले बताए । अहिले धेरै विद्यालयहरुले जग्गाको अभाव देखाउनुभएको छ’ उनले भने‘तर ज्ञानज्योतीले थोरै जमिनमा, धेरै राम्रो व्यवस्थापन गर्नुभएको छ, यो विद्यालयबाट पाठ सिक्नुपर्छ ।’ अर्कोतर्फ शिक्षकहरुले विद्यार्थीलाई गर्ने व्यवहार पनि फरक छ विद्यार्थीमैत्री भएको विद्यालयमध्येको एक विद्यालय रहेको भन्दै उक्त विद्यालयबाट दाङका धेरैजसो सामुदायिक विद्यालयले पाठ सिक्नुपर्ने बताए । उक्त विद्यालय हरेक विद्यालयले एक पटक अवलोकन गर्नुपर्ने विद्यालय रहेको बताए ।

विद्यार्थी संख्या धेरै

सामुदायिक विद्यालयको गुणस्तर घट्दै जाँदा विद्यार्थीको संख्या पनि घट्दै गइरहेका छन् । तर तुलसीपुर–५ को सुन्दरनगरमा रहेको विद्यालयमा भने विद्यार्थीको संख्यामा कुनै हलचल आएको छैन् । कक्षा ५ सम्म सञ्चालन रहेको उक्त विद्यालयमा दुईसय १८ विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए ।

शिशु कक्षामा ३०, कक्षा १ मा ३६, कक्षा २ मा ३६, कक्षा ३ मा ३०, कक्षा ४ मा ५३ र कक्षा ५ मा ३३ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत दलित, गरिब बस्तीका बालबालिका अध्ययनरत रहेको प्रअ घिमिरेको भनाइ छ । तर विद्यार्थीको संख्या अनुसार शिक्षकको दरबन्दी नभएको प्रअ घिमिरेले बताए । अहिले प्राविको एउटा मात्रै दरबन्दी छ । सातजना शिक्षक कार्यरत रहेको उक्त विद्यालयमा तीनजना राहत, दुईजना बाल विकास र दुईजनालाई निजीस्रोतका शिक्षक रहेको प्रअ घिमिरेले बताए ।

गरिबका छोराछोरीको उज्ज्वल भविष्य

अहिले गरिब, दलितहरुको उज्ज्वल भविष्यको खाका कोर्ने ज्योतीका रुपमा स्थापित भएको ज्ञानज्योती । आर्थिक अभाव, गिट्टी कुटेर जीवन निर्वाह गर्नेहरुका छोराछोरीको लागि शिक्षाको दियो बालेको छ, ज्ञान ज्योतीले । सोही ठाउँ निवासी शिवा विकले गिट्टी कुटेर छोराछोरीलाई पढाउनेदेखि घरधन्दा धानिरहेकी छन् ।

‘गिट्टी कुटेर महिनामा पाँच÷छ हजार आम्दानी हुन्छ । त्यो पैसाले छोराछोरीलाई पढाउने की, घर परिवार धान्ने’ उनले भनिन् ‘अहिले घर नजिकै राम्रो सरकारी विद्यालय भएपछि सहज भएको छ ।’ उनका तीन छोराछोरीले अहिले त्यही विद्यालयमा अध्ययन गरिरहेका छन् । शिवाजस्तै धेरै अभिभावकका बालबालिकालाई शिक्षाको ज्योती छरिरहेको छ ।

विद्यालयको संस्कार पनि फरक

विद्यालयको संस्कार पनि अन्य विद्यालयभन्दा फरक छ । विद्यार्थीहरुलाई खुसी बनाएर पढाउने गरिन्छ । विद्यालयबाट घर फर्कने क्रममा प्रत्येक दिन प्रार्थना गरी प्रत्येक दिन एक÷एकवटा सामान्य ज्ञान प्रश्न सोध्ने गरिन्छ् । जसले गर्दा विद्यार्थीमा बाहिरी ज्ञानमा पनि विकास हुने गरेको प्रअ घिमिरेले बताए ।

विद्यालयको प्रभावकारी पठनपाठन र बाहिरी ज्ञानले गर्दा विद्यालयले प्रत्येक वर्ष सम्मानजनक सिकाइ उपलब्धि हासिल गर्न सफल भएकाले पनि शिक्षा अधिकारीले सोही विद्यालयलाई नुमना विद्यालयका रुपमा लिने गरेको बताए । अहिले शिशु कक्षा र कक्षा १ मा मल्टिमिडिया पद्धतिबाट पठनपाठन भइरहेको उनले बताए ।

तुलसीपुर उप–महानगरपालिकाको दुई लाख आर्थिक सहयोगमा मल्टि मिडियाबाट पठनपाठन भइरहेको उनले बताए । जसले गर्दा बालबालिकालाई पढाउन सहज भएको उनको भनाइ छ । प्रअ घिमिरेले अबको केही समयमा अंग्रेजी माध्यामबाट पठनपाठन बनाउनेसमेत बताए ।

विभिन्न संघसंस्थाको सहयोग

सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कहिल्यै पनि झोला, स्कुल ड्रेसलगायतका शैक्षिक सामाग्री किन्न पर्दैन् । विभिन्न संघसंस्थाहरुले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छन् । अति गरिब, बिपन्न तथा दलित परिवारहरु पठनपाठन हुने भन्दै विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन् । गरिब, विपन्न तथा दलित परिवारका बालबालिकाहरुले पढ्ने नमुना विद्यालय भएकाले पनि सबैले उक्त विद्यालयलाई प्रोत्साहन स्वरुप सहयोग गर्दै आएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्