सैघाली खबर,
थाइल्याण्ड । थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ । ३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन गरेको स्वीकार गरेका छन् जसमा उनले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गरेका थिए ।
आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको बताइएको छ । अदालतले उनलाई गैरकानूनी रुपमा कर्जा प्रवाह र २,६५३ वटा ठगीका घटनामा संलग्न रहेको पाइएको जनाएको छ ।
गल्ती गरेको स्वीकारोक्तिले उनको सजाय आधाले घटेर ६,६३७ वर्ष ६ महिनामा झरेको छ । यद्यपि उनले २० वर्षभन्दा बढी जेल सजाय भोग्नु नपर्ने देखिएको छ । थाइल्याण्डको कानून अनुसार उनी दोषी ठहर भएका दुईवटा अपराधमा प्रत्येकका लागि १०र१० वर्ष जेल सजायको व्यवस्था छ । अभियोजनकर्ताहरुले अदालतलाई बताए अनुसार पुडितले सेमिनारहरुको आयोजना गर्थे जहाँ उनले विकास, सौन्दर्य, प्रयोग गरिएका कार र निर्यात लगायतसँग आफ्नो व्यवसाय सम्बन्धित रहेको भन्दै सहभागीहरुलाई लगानी गर्न प्रोत्साहित गर्थे ।
द ब्यांकक पोस्टका अनुसार नयाँ सदस्य लिएर आउने लगानीकर्तालाई मनग्गे प्रतिफल र प्रोत्साहन रकम दिने वाचा गरिएको थियो ।
जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि पुडितलाई गत अगष्ट महिनायता ‘ब्यांकक रिमाण्ड प्रिजन’ मा राखिएको थियो । अदालतले उनका दुईवटा कम्पनीमा प्रत्येकसँग २०र२० करोड डलर बराबरको सम्पत्ति रहेको जनाएको छ । अदालतले पहिचान गरिएका २,६५३ जना पीडितलाई साढे ७ प्रतिशत ब्याजसहित करिब १७ करोड डलर फिर्ता दिन पुडितलाई आदेश दिएको छ । बीबीसी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।