कोरोनाले मादल बनाउने पेशा संकटमा



धनगढी । पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ ।

“आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ । त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप सङ्कटमा पर्यो”, सन्देश बादी भन्छन्, “सबैभन्दा बढी व्यापार हुने समय दशैँ र तिहारमा पनि खासै कारोवार हुन सकेन । यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, बनाएका मादल थन्किएका छन् ।”

कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै काम नआएको गौरीगङ्गा नगरपालिका–१ माघी शिविरका खड्क बादीको भनाइ छ । “दशैँ र तिहारमा रातदिन मादल बनाउनुपथ्र्यो, यस वर्ष कामै छैन”, खड्क भन्छन्, “मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन् ।”

कैलालीको टीकापुर–८ सत्तीमा बादी समुदायको पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरी मादल बनाउने र बेच्ने गरिँदै आएको छ । विगतका वर्षमा थारू समुदायले दशैँमा धुमधाम नाचगान गर्थे ।

“थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन”, सञ्चालक समितिका सदस्य सुरज बादी भन्छन्, “थारूगाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे । यस वर्ष तिहारमा पनि बिक्री हुने छाँटकाँट छैन ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्