विद्यालयहरुले लिन थाले कक्षा ११ को परिक्षा



काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षा गर्ने अनुमति दिनासाथ कक्षा ११ को परीक्षा पनि सुरु हुन थालेका छन् । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा देशभरिका विद्यालयमा हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा सुरु भएको छ । केही विद्यालयमा तिहारपछि परीक्षा हुँदै छन् । कक्षा १२ को परीक्षा ४० पूर्णाङ्कका लागि हुने र कक्षा ११ को आन्तरिक मूल्यांकनको आधारमा कक्षा १२ मा नम्बर दिने भएपछि विद्यालयहरु कक्षा ११ को पनि परीक्षा गर्न बाध्य भएका हुन् ।

कक्षा ११ को परीक्षा नगरी कक्षा १२ को नतिजा नआउने भएकाले गर्दा नै कक्षा ११ को परीक्षा लिन लागेको मैतीदेवीस्थित न्यू समिट कलेजका प्रोग्राम को–अर्डिनेटर लीला दाहालले बताए । न्यू समिटमा मंसिर १९ गतेबाट कक्षा ११ को परीक्षा हुँदैछ । दाहालका अनुसार ११ को सम्पूर्ण विषय पढाइ भइसकेको छ ।

उनी भन्छन्, “हाम्रो विद्यालयमा एकसाथ एक हजार विद्यार्थी बस्न सक्ने क्षमताको छ । स्वास्थ्य मापदण्ड अपनाएरै परीक्षा लिन्छौँ । कोभिडको ज्वरो नाप्ने, स्यानिटाइज गर्ने र सामान्य रुघाखोकी लागेकालाई छुट्टै राखेर परीक्षा लिने तयारी गर्छौं ।”

टोखास्थित सरस्वती उच्च माध्यामिक विद्यालयले कक्षा ११ मा अनुत्तीर्ण भएकाहरुको परीक्षा लिइराखेको प्रधानाध्यापक अर्जुन श्रेष्ठले बताए । उनका अनुसार कक्षा १२ को परीक्षा दिइसकेका तर कक्षा ११ मा फेल भएका ११ विद्यार्थीले अहिले पुनः परीक्षा दिइरहेका छन् । तिहारपछि भने कक्षा ११ को नियमिततर्फका विद्यार्थीले परीक्षा दिने उनले बताए ।

नयाँबजारस्थित प्राइम कलेजले मंसिर १८ गतेबाट कक्षा ११ को परीक्षा लिँदैछ । करिब ९५ विद्यार्र्थी सहभागी हुने परीक्षामा प्रत्येक विद्यार्थीलाई फोन गर्दै उनीहरुको वर्तमान अवस्थाबारे विवरण संकलन गरिरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

कोरोना संक्रमित विद्यार्थीलाई कसरी परीक्षा लिने भन्नेबारे रणनीति बनाइरहको प्रशासनले जनाएको छ । वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार विद्यालयले परीक्षा सुरु गरेको जनाइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्