सैघाली खबर
काठमाडौं,१७ पुस
एमाले र माओवादीबीचको एकता प्रक्रियामा ढिला हुँदै गएको छ । एकीकृत पार्टीको नेतृत्व कस्ले गर्ने भन्ने विवाद्का कारण एकता प्रक्रियामा ढिलाई भएको कतिपय नेताहरुले बताएका छन् ।राष्ट्रियसभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएको बताईए पनि नेतृत्व र पदिय बाँडफाँडका कारण एकतामा ढिलाई भईरहेको हो ।
तर केहि दिन यता वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठन अगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको छ । तर, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ ।एमाले अध्यक्ष ओली सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने भएकाले एकीकृत पार्टीको नेतृत्वमा माओवादीले दाबी गरेको छ ।
तर, एमालेले भने महाधिवेशन अगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ ।एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने विकल्प प्रस्तुत गरेको स्रोतले बताएको छ ।
केन्द्रमा दुवै पार्टीका शीर्ष नेताहरू रहेको महाधिवेशन तयारी सचिवालय बनाएर ६०÷४० कै अनुपातमा दुवै पार्टीको केन्द्रीय समिति मिलाएर महाधिवेशन आयोजक समिति बनाएर जान सकिने प्रस्ताव एमालेको छ । तर मूख्य चुनौती शीर्ष नेताहरूको व्यवस्थापनमा देखिएको छ । पार्टी प्रमुख भइसकेका एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमका साथै माओवादी वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादु थापा बादलको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भईरहेको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।