प्रचण्डको सुरक्षामा खटेका पूर्वजनसेनाको चन्दा उठाएर उपचार गरिँदै

घाइतेहरु आज न आफै उपचार गर्न सक्ने अवस्थामा छन् राज्यले नै उनीहरुको उपचारको व्यवस्था गरेको छ ।


काठमाडौं । जनवादी व्यवस्था स्थापना भएपछि सबै गरिब जनताको गास, बास र कपासको ग्यारेन्टी गरिनेछ भन्दै जनताका छोराछोरीलाई युद्धमा होम्ने हालका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल हाल सत्तारुढ पार्टीको अध्यक्ष छन् ।

माओवादी जनयुद्धका कमाण्डरहरु दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री भइसके । माओवादी जनयुद्धलाई शान्ति प्रकृयातिर धकेलेको चर्चित चुनबाङ बैठकमा प्रचण्डको सुरक्षार्थ खटाइएका जनसेनामध्ये पहिलो घेरामा खटेका थिए कमरेड मुनाल । तर नेताहरु पटकपटक मन्त्री तथा प्रधानमन्त्री भइसक्दा पनि युद्धकालीन कार्यकर्ता, जनसेना र जनताको हालत भने उस्तै छ ।

उनीहरुले न कार्यकर्ताको व्यवस्थापन गर्नसके न जनवादी व्यवस्था नै ल्याउन सके । शान्ति प्रकृयाको नाममा विसर्जन गरिएको जनयुद्धका कारण घाइतेहरु गोली र छर्राहरु शरीरमा बोकेर उपचारको खोजीमा हिँडीरहेका छन् । घाइतेहरु आज न आफै उपचार गर्न सक्ने अवस्थामा छन् न राज्यले नै उनीहरुको उपचारको व्यवस्था गरेको छ ।

युद्ध लडेका सेना र कार्यकर्ताको यो बेहाल हुँदापनि दाहाल र भट्टराईहरुको मन दुख्दैन । माओवादी युद्ध दमनमा लागेका कांग्रेस र एमालेहरुको मन दुख्ने त कुरै भएन । यसैबीच जनयुद्धकाको चर्चित चुनबाङ बैठकमा दाहालको सुरक्षार्थ खटेका पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जिबाङका तुलबहादुर घर्ती कमरेड मुनाल पक्षघात भएर थला परेका छन् तर उनको उपचारमा कसैले पनि सघाएको छैन ।

जनयुद्ध लडेर नेतालाई सत्तामा पुर्याए तर आज आफू रोगसित लडिरहँदा तिनै नेताहरुलाई थाहा छैन । थाहा पाएपनि वास्ता छैन । युद्ध र आन्दोलनमा प्रयोग गर्ने तर जव समस्या पर्छ तब कसैले पनि ती पीडितहरुको वास्ता नगर्ने, यो नेपाली राजनीतिको प्रयाय बनेको छ । त्यसैले त जीवन र मृत्युको दोसाँधमा रहेका मुनालहरु बारे आज कसैलेपनि सोधपुछ गर्दैन ।

मुनालको जीवन बचाउन राज्यले बेवास्ता गरेपनि उनका साथी र आफन्तहरु भने उनलाई बचाउन लागिपरेका छन् । यसैबीच दोलखाका हेमबहादुर खड्काको टोली मुनालको उपचार गर्ने खर्च जुटाउन लागिपरेको छ । रुकुमका मुनालको ज्यान बचाउन दोलखाका मनकारी हेमबहादुरहरु लाग्नु पर्ने अवस्थाले देशको हालतको पनि खुलासा भएको छ ।

हेमबहादुरहरुले बुधबार काठमाडौंको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरि मुनाललाई उपचारमा लाग्ने खर्च जुटाउन चन्दा संकलन गर्ने अभियानमा लाग्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलन मार्फत सो टोलीले देश तथा विदेशमा रहेका नेपाली दाजू–भाई तथा दिदी–बहिनीहरुमा आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हेमबहादुर खड्काले आफूहरु निस्वार्थ र मानवीय भावले मुनालको ज्यान बचाउने अभियानमा लागेको बताए । मुनालको उपचारमा आर्थिक सहयोग गर्न चाहनेहरुले शान्ति नेपालको ग्लोबल आइएमई बैंक लिमिटेड लि काठमाडौं पानीपोखरी शाखामा रहेको खाता नम्बर ३३०१०१००००७६५ मा रकम जम्मा गर्न सकिने छ । ९८४१४३८०३१ यो नम्बरमा सहयोगदाताहरुले आवश्यक परेका सम्पर्क गर्नपनि सकिनेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्