सुतिरहेकी युवतीको गोली हानी हत्या, हत्याको कारण प्रेम हुनसक्ने



कात्तिक । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । सो गाउँपालिकाको वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृताकुमारी साहको गोली हानी हत्या भएको हो ।

सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकी आमा सितादेवी साह राति शौचालय गएको मौका छोपी अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ ।

गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् । विवाहित महिलाको माइतीघरमा हत्या भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

साहको पे्रम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ।

गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि पनि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेश तीन महिनाको उपचारपछि निको भएका थिए । त्यसपछि २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्ध विच्छेद भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्