विभेद विरुद्ध समर्पित एक “पागल” अभियान्ता :सरु सुनार



डा मान बहादुर बीके
हुन त वहासंग मेरो परिचय त्यति पुरानो हैन। म अमेरिका रहदा विशेष गरी जातिय विभेद विरुध्द सामाजिक संजाल मार्फत कुराकानी हुने क्रममा चिनजान भएको हो। तर चिनजान भए देखि वहा समर्पित भएर लागेको कुरा सामाजिक संजालमा पछ्याउने गरेको थिए। एउटी एकल महिला छुवाछुतजन्य हिंसा हुदा त्यहा पुगेर प्रति कार्य गरिहाल्ने वहा या नि सरु सुनारको शैलीले धेरै पिडकहरु कानूनको दायरामा पुगेका छन; पिडितले न्याय पाएका छन। त्यति मात्र हैन प्रहरी र संवन्धित निकायहरु पनि यो विषयमा सजग हुने मात्र हैन सचेत समेत हुने गरेका छन।

तर एउटा घटनामा भने प्रत्यक्ष अवलोकन गर्ने मौका मिल्यो। गत साल म कर्णाली प्रदेशमा कार्यरत रहदा दैलेखमा एउटा छुवाछुतजन्य हिंसा भएको घटना सुनियो; एक जना दलित महिलालाई गैरदलित दम्पतीले कुटपिट गरेको। तर यो घटना ४ महिना हुदासम्म पनि पीडकलाई प्रहरीले समाउन सकेको थिएन। भनिन्थ्यो जिल्लाका पहुचवाला व्यक्तिहरुको ठूलै संरक्षण थियो पीडकलाई; त्यसैले त प्रहरीले पनि अनदेखा गरेको।

स्थानिय दलित अगुवाहरु नलागेको त होइनन तर ठूलाहरुको संरक्षणले गर्दा नतिजा देखिएको थिएन। सोही घटनाको बारेमा वहाले म संग समेत जिज्ञासा राख्दै आफै प्रति कार्यका लागि त्यहा आउने जानकारी गराउनु भयो। कता कता आफूलाई लज्जावोध पनि भएको थियो त्यस घटनामा सारभुत केही गर्न नसकेकोमा। आफु सरकारी जागिरे भएकोले सो घटनाको प्रतिकार्यमा सक्रिय भएर लाग्न सक्ने अवस्था त भएन तर पीडितलाई न्याय दिलाउने कार्यमा सघाउनु कर्तव्य ठाने। दैलेख वहाको लागि नया ठाउ भएकोले एक जना सहयोगी सहित गाडि व्यवस्था गरी पठाउने काम गरियो। वहाले त त्यही बेलुका प्रहरी कै मा डिनर गरी प्रहरी ल्याई सुर्खेतबाट पीडकलाई गिरफ्तार गरी बिहान हुदानहुदै हिरासतमा पुर्याउनु भएछ।

चाचार महिना अल्मलिएको केश एक रात मै सुल्टिएको देख्दा म त अचम्मित भए नै पीडितहरुले त यसलाई चमत्कार जस्तै ठाने। यो त मैले नजिकबाट देखेको एउटा घटना मात्र हो, वहा पुगेका यस्ता घटना धेरै छन। अहिले त वहा त्यस्तै जुझारु युवाहरु समेटी विभेद विरुध्दको एक्सन ग्रुप नै बनाएर लाग्नु भएकोछ। वहा त विभेद विरुध्द फिल्ड एक्सनको पर्यायवाची कै रुपमा परिचित हुनुहुन्छ। देख्दा कद होचो भएता पनि हिंसा विरुध्दको अभियानले वहाको उचाईलाई अग्लो बनाएको छ।

आफुले पाएको सम्मान हस्तान्त्रण गर्दै डा.मान बि.के

यो वर्षको नेपानबाट प्रदान गरिने ‘ प्रसिध्द विकास लेखन सम्मान’ मलाई प्रदान गरिने निर्णय २०७७ आश्विन २ गते जानकारी प्राप्त भयो। सो अनुसार मलाई उक्त सम्मानको नगद रकम एउटा महत्वपूर्ण सामाजिक कार्यका लागि समर्पण गर्न मन लाग्यो। अर्को दिन जूम सम्मेलन मार्फत संस्थाको वार्षिक उत्सवमा उक्त सम्मान हस्तान्तरण गर्ने कार्यक्रम थियो। तसर्थ उक्त कार्यक्रममा मैले पनि घोषणा गर्नु पर्ने थियो। सरु जी को अभियानलाई कसरी सघाउन सकिएला भन्ने लागि रहन्थ्यो।

झट्ट वहाको सक्रियता याद आयो। एकाध जना जानकारहरु संग सल्लाह पनि गरे। ती जानकारहरुले पनि अन्य कुरा जे जस्तो भएता पनि वहाको विभेद विरुध्दको अभियान एकदम ठिक रहेको र त्यस्तै प्रति कार्यात्मक अभियान नै विभेद विरुध्द उपयुक्त हुने वताए पछि मलाई झनै बल मिल्यो । तसर्थ वहालाई नै फोन गर्ने जमर्को गरे ।

एकाध पटक बाहेक त्यति फोनमा कुरा भएको पनि थिएन। फोन रिसिभ हुदा वित्तिकै वहाले हालसाल भएका जातिय विभेद विरुध्दका घटनाको बेलिविस्तार लगाउनु भयो। वहाले व्याख्या गर्ने ती घटनाहरुमा दुख थिए, आक्रोस थिए र रणनिति थिए। भन्ने क्रममा ‘ अभियानका लागि म पागल भएकि छु।‘ भन्ने कुराले मलाई खुबै समायो। अभियान प्रति पागल भएर नलागेसम्म कुनै परिवर्तन हुदैन भन्ने वहाको कुरा झनै पेचिलो थियो । हुन पनि कुनै घटना प्रति शहर केन्द्रित बौध्दिक बहस , जुम मिटिंग वा आपसी अन्तरक्रिया कार्यक्रमले योगदान नै नपुर्याउने त नहोला तर घटनास्थलमै गएर पीडितहरुसंग रहेर प्रचलित कानुन बमोजिम् प्रतिकार्य गर्नु जस्तो सार्थक र नतिजामूलक हुदो रहेनछ।

पछिल्ला समयमा सरु सुनार नपुगेको घटना सायदै होलान; चाहे जाजरकोटको नरसंहार होस, चाहे धनुषाको शम्भु सदा मुसहरको हत्या होस, चाहे बझांगको संझना कामीको बलत्कार र हत्या । त्यसैले जहा यस्ता घटना घट्छन अब त त्यहाका पीडितहरु स्यंले सरु सुनार खोज्ने भैसकेका छन। वहाले अवलम्वन गरेको शैली पनि बेग्लैछ, पीडितलाई राहत, पत्रकार पनि भएकोले स्थलगत रिपोर्टिंग र दवावमूलक कानूनी प्रतिकार्य । अब त वहाको एउटा रिपोर्टिग् एकै छिनमा हजारौ युवा जुरमुराउने भैसकेका छन।

कुराकानीको क्रममा वहाको धारा प्रवाह घटना विश्लेषणको श्रृखलालाई रोक्न मैले जिस्काउने पाराले कुरा मोड्न खोजे ‘ होइन तपाई त उमेरको मान्छे, यसो रमाइलो गर्न वा मनोरंजन गर्न मन लाग्दैन?’ एकै वाक्यमा भन्नु भयो ‘ अह, लाग्दैन, म मेरो समय यही अभियानलाई समर्पण गरेकि छु। म एकल महिला, मलाई कहि कतैबाट रोकतोक छैन, केही समय म यही अभियानमा लाग्ने हो।

‘ अभिव्यक्ति मै अभियान प्रति गहिरो दृढता थियो। मैले जमर्को गरेर मैले प्राप्त गरेको पुरस्कारको रकम वहाले चलाएको ‘ विभेद विरुध्दको अभियान समूह’ लाई समर्पण गर्ने मनसायले फोन गरेको कुरा बताए। यो सुन्दा वहामा केही खुसि त थियो नै तर धेरै आक्रोस थियो। अभियानलाई सघाउ पुग्ने कुरामा खुसि त स्वभाविकै थियो तर दलित समुदायमा पनि देश भित्र र बाहिर आर्थिक हैसियत भएका व्यक्ति/व्यवसायी हुदाहुदै पनि खासै सहयोग नजुटेकोमा आक्रोस थियो।

लेखक डा.मान बि.के

हुन पनि घटनास्थल मै पुगेर पीडितलाई राहत सहित प्रतिकार्य गर्ने कुरा कम खर्चिलो छैन। वहा भन्नु हुन्छ ‘हामि जस्तो चौबिसै घण्टा अभियानमा दौडिने व्यक्तिले यसमा लाग्ने खर्च कसरि धान्ने? अभियानमा लाग्न नसके पनि यसमा लाग्नेलाई सबै तिरबाट सहयोग मिलेमा अभियान झनै प्रभावकारी हुने थियो।

‘ वहाले यो विभेद विरुध्दको प्रतिकार्य अभियानलाई संस्थागत गरी सबै जिल्लामा संजाल बनाउन तैयारी गरेको र यो रकमले त्यसका लागि प्रोत्साहन हुने वताउदै धन्यवाद दिनु भयो। म पनि एक ‘पागल अभियन्ता’ संगको कुराले थप उत्साहित भए।
धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्