नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्र्तगत आज कागको पूजा गरिँदै



काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्र्तगत आज कागको पूजा गरिँदैछ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजोबाटै सुरु भएको छ। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ। यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ। कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ।

अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ। आइतबार बिहान ११ बजेर २७ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ। मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ ।

बिहान ११ बजेर ३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ। भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उहाले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्