लक्ष्मी पूजाका दिनः लक्ष्मीप्रसादको सम्झना

त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए ।


लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन् । उनको जन्म विसं १९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९ (मृत्यु वि सं २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९० मा भएको हो । देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ ।

उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । देवकोटा तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए । उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मीपूजाका दिन जन्मिए । विक्रम सम्वत १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो ।

तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो । देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए ।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।

देवकोटा जन्मिँदा देशमा राणा शासन थियो । राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटीको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए । देवकोटा दरबार हाई स्कूलमा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे ।

अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रि–चन्द्र कलेजमा बिज्ञान विषयमा भर्ना भए । विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे । सन् १९२९ मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए । अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे । देवकोटा बहुमुखी लेखक थिए ।

जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, लामा वर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचनाहरू लेखेका छन् । कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन् ।

यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ । मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो । देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गर े। यिनी एक पटक नेपालको शिक्षामन्त्री सम्म भएका थिए । यिनैका पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो ।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितिय प्रतिभा थियो । उनले शाकुन्तल महाकाव्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे । उनले नेपाली साहित्यलाई नयाँ उचाईमा पुर्याए । मुनामदन, प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाव अन्त्य गर्यो । पागलमा कविता उनको अर्को महान कृति हो । जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् ।

नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्ति लेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो । भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु ।’

साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुञ्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो ।

लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए । १५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । विसं १९८५ मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९ मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म विसं १९९३ मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्यो ।

दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती वियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्कलाई समेत चोट पुर्यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।

अन्तिम वर्षहरुः

दुःखमा दुःख थपिए झैं देवकोटालाई १९५८ (वि स २०१५) मा क्यान्सर लागेको थाहा भयो । भारत लगेर ठूलो आन्द्राको ३ इञ्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि विस २०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्