भारत जान लागेका नेपालीलाई भारतीय प्रहरीले सिमाबाट फर्कायो



कञ्चनपुर । रोजगारीका लागि पश्चिमी सीमा नाका गड्डाचौकीहुँदै भारत जाने नेपालीलाई भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाइएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदूरी गर्न भारत जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो । यसअघि आधार कार्डका आधारमा नेपाली सीमानाका  हुँदै भारततर्फ जाँदै आएका थिए ।

जानकारी नै नदिई सीमानाका बन्द गरिएपछि सीमाक्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् । भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमाक्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले जानकारी दिए ।

“व्यक्तिगतरूपमा बुझ्दा मेडिकल र अध्यागमनको टोली नआएकाले प्रवेश नदिइएको भन्ने कुरा बुझिएको छ”, उनले भने, “सीमानाका प्रवेशमा नेपालीलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी भने प्राप्त हुनसकेको छैन, मेडिकल र अध्यागमनको टोली आजसम्म आए प्रवेश दिइने भन्ने छ, पछि थाहा हुन्छ ।”

उनका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरुको सङ्ख्या ३० देखि ५० जना जति रहेको छ । दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपालीहरु सीमानाकाहुँदै भारततर्फ जाने गरेका छन् । file photo .

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्