भाईसँग मेरो डीएनए मिलोस्



सुरेशराज न्यौपाने । सल्यान रोड, तुलसीपुर दाङकी सुदा रिजाल एक्लै हुनासाथ कल्पना गर्छिन्– ०६१ जेठ २ नहुँदो त जीवन कति खुसी हुने थियो । बुबाको संरक्षण, भाइको माया । तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र ?  झन्डै डेढ दशकअघिको त्यो दिन, जसले उनलाई माइतीविहीन बनायो । उनी बिर्सन त खोज्छिन्, तर नसम्झेर कहाँ धर ।

आमाको रिक्ततामा उनलाई बाले दुःखसुख हुर्काइरहेका थिए । त्यस दिन उनी घरमै थिइन् । बा चारवर्षे भाइलाई लिएर घरबाट निस्किए । कतै काम परेर गएको ठानेर उनी आफ्नै धुनमा बसिन् । भाइ बोकेर गएका बा त्यसपछि घर फर्किएनन् । कैयौं दिन बिते तर बा र भाइको पत्तो लागेन । १२ वर्षकी सुदा त्यसपछिका दिन आफन्तको छहारीमा हुर्कंदै गइन् ।

केही दिनपछि ठूलोबुबाले पत्रिकामा बा र भाइ हराएको सूचना निकाले । तर, कसैले पनि भेटिएको खबर दिएनन् । सुदाको मन भाइलाई सम्झेर पिरोलिइरह्यो । १७ वर्षमा उनको विवाह भयो । विवाहको केही वर्षपछि श्रीमान्सँगै भारतको सिमला पुगिन् । श्रीमान् स्याउ बगानमा काम गर्थे । उनी सडकमा भेटिने बेसहारा ससाना बाबुहरू देख्दा आफ्नै भाइ पो हो कि भनेर झस्किन्थिन् । कोही–कोहीसँग त नाम र ठेगान नै सोध्थिन् ।

आठ वर्षअघि उनीहरू तुलसीपुर फर्किए । बेलाबेला उनलाई बा र भाइको खोजीमा निस्कौं जस्तो लाग्थ्यो । तर, खोज्न त्यति सजिलो थिएन । ‘कहीं नाम नखुलेको लास छ भन्ने सुन्नासाथ त्यहीं पुग्थें,’ सुदा भन्छिन्, ‘कतै बेवारिसे भेटियो भने भाइ नै हो कि भन्ने लाग्थ्यो ।’ रोगी बा त पक्कै यतिका वर्ष बाँचेनन् होला भन्ठानेर केही वर्षयता उनी भाइकै मात्र खोजीमा केन्द्रित हुन थालिन् ।

त्यसका लागि उनी कहाँसम्म पुगिनन् ?

करिब दुई वर्षअघि एक आफन्तले साँझमा घरमै आएर बुबा र भाइ भेटिएको कुरा सुनाए । उनीहरू नेपालगन्जको एउटा घरमा बसेको अपूरो सूचना दिए । खबर सुनेको रात सुदा झिमिक्क निदाउन सकिनन् । बिहान सबेरै उठेर तुलसीपुरबाट नेपालगन्ज हान्निइन् । चर्को घामको पर्वाह नगरी घर खोजिन् । भेटेजति मान्छेलाई सोधिन् । तर, प्रयास व्यर्थै भयो । आफन्तले दिएको सूचना मिलेन । उनी निराश भएर फर्किइन् ।

त्यसको केही महिनापछि कसैले उनलाई सुनायो, दाङको घोराहीमा एउटा केटा छ रे । सानै उमेरमा बुबासँग घरबाट निस्केको रे । उनी घोराही नै पुगिन् । तर, त्यो केटाको विवरणसँग भाइको विवरण मेल खाएन ।

रोजगारीका निम्ति दुबई पुगेका श्रीमान्ले उतैबाट सुनाए, ‘काठमाडौंको होटलमा एउटा केटा छ रे, सानैमा बुबासँगै घरबाट निस्केको, कतै तिम्रो भाइ नै पो हो कि ?’

दसैंको चटारोले छोपेको थियो । उनी सबथोक छाडेर अष्टमीका दिन काठमाडौं पुगिन् । श्रीमान्ले भनेको होटलमा पुगिन् । सोधखोज गर्दा श्रीमान्ले भनेको मान्छे त्यहाँ थिएन । सुदा नपुग्दै उसलाई अभिभावकले जिम्मा लिइसकेका थिए । फेरि निराश बनेर घर आइन् ।

तीन महिनाअघिको एउटा खबरले भने उनको जीवनमा भिन्न किसिमको खुसी सञ्चार गरायो । घरमै बसिरहेका बेला छिमेकी दिदीले सुनाइन्, ‘न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’मा एउटा बच्चाको फोटो देखाएको थियो, मलाई त तिम्रो भाइजस्तो लाग्यो ।’ उनले युट्युबमा कार्यक्रम हेरिन् ।

त्यसमा भारतको राजधानी दिल्लीछेउ आश्रममा बस्ने, अभिभावकको परिचय नखुलेको एक नेपाली किशोरका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा किशोरका बाल्यकालीन केही तस्बिर पनि देखाइएको थियो । उनको भाइको नाम दशरथ थियो । कार्यक्रममा देखाइएको किशोरको नाम अनिल । तैपनि उनलाई किनकिन त्यो किशोर आफ्नै भाइजस्तो लाग्यो । उनले मन बुझाइन्, भाइले नाम फेर्‍यो होला ।

अनेक यत्न गरेर उनले टेलिभिजनका सम्बन्धित व्यक्तिको नम्बर खोजिन् । कार्यक्रम उत्पादकले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको दिल्लीस्थित संस्था केआई नेपालका प्रतिनिधि नवीन जोशीको नम्बर दिए । ती किशोरको सूचना उनैले टेलिभिजनलाई दिएका रहेछन् । आश्रमको अभिलेखअनुसार सन् २००७ अक्टोबर ८ मा दिल्लीको त्रिलोकपुरीमा एउटा मन्दिरअगाडि रुँदै गरेको अवस्थामा अनिल भेटिएका रहेछन् । नेपालीमात्र बोल्न जान्ने उनले आश्रमकै आश्रयमा बसेर ११ कक्षासम्म पढेका रहेछन् ।

सुदाले तुरुन्तै जोशीलाई सम्पर्क गरिन् र ठूलीआमालाई लिएर जोशीलाई भेट्न दिल्ली पुगिन् । जब जोशीले अलीपुरस्थित आश्रम पुर्‍याए, उनले आफूलाई थाम्न सकिनन् । ‘वर्षौंदेखि हराएको आफ्नै भाइ भेटेजस्तो भयो । आँसु खसिहाल्यो,’ उनले सुनाइन् ।

ठूलीआमाले अनिलका खुट्टा हेरेर लख काटिन्, यो त सुदाकै भाइ हो । सुदालाई पनि अनिल र आफ्नो हाँस्ने शैली मिलेजस्तो लाग्यो । उनले हिन्दीमै अनिललाई अनेक प्रश्न राखिन् । कहाँबाट आएको ? कसरी दिल्ली पुगेको ? यस्तैयस्तै । तर, उनी त्यतिबेला खिस्स भइन्, जब अनिलले विगतको कुनै सम्झना नभएको बताए । सुदाको मनले भनिरहेकै थियो– यो तेरै भाइ हो । सुदाका सबै कुरा सुनेपछि अनिलले पनि आफ्नै दिदी भेटेजस्तो लागेको बताए ।

त्यसपछि घरमा स–साना छोराछोरी छाडेर उनी कैयौंपल्ट अनिललाई भेट्न दिल्ली धाइन् । प्रत्येकपल्ट कम्तीमा २०–२५ हजार रुपैयाँ खर्च हुन्थ्यो । परदेशिएका श्रीमान्लाई उनी भन्थिन्, ‘पीर नमान । म भाइ भेटेर छिट्टै फर्किन्छु ।’

नयाँदिल्लीको आनन्दबिहार बस अड्डाबाट रुपैडिहा जाने बस कुरिरहेकी सुदाले कुराकानीका क्रममा अनिल आफ्नै भाइ दशरथ भएको दोहोर्‍याइरहिन् । उनले मोबाइलमा भएको भाइका पुराना फोटा देखाइन् । अनि आश्रममा भेटेको ‘भाइ’का फोटा देखाइन् । र, अनुहारमा उत्साहको भाव समेट्दै भनिन्, ‘उस्तै त छ नि, हैन ?’

उनलाई मनैदेखि भाइ भेटिएको लागे पनि त्यसको कानुनी आधार जुटाउन सजिलो छैन । सुदाका अनुसार बासँग घरबाट निस्कदा भाइ चार वर्षको थियो । आश्रमको अभिलेख हेर्दा घरबाट निस्केको तीन वर्षपछि ‘भाइ’ त्यहाँ पुगेको देखिन्छ ।

दुई साताअघि २८ वर्षीया सुदा केही कागजात बोकेर दिल्ली उत्रिइन् । पछिल्लो भेटमा पनि पुराना कुरा केही सम्झिन सक्छ कि भनेर अनेक प्रयत्न गरिन् । ‘बारम्बार सोध्दासमेत आफू कहाँबाट आएको, केही थाहा नभएको बतायो,’ उनले भनिन् । अनिलले घरपरिवारका बारेमा बताउन नसकेकाले सुदा नै उनकी दिदी हुन् भन्नेबारे भरपर्दो आधार देखिएन । जसले गर्दा आश्रमले सुदाको जिम्मा लगाउन मानेन । यो निर्णय सुनेपछि उनी भरंग भइन् । छुट्टिने बेलामा उनका आँखा त रसाए नै, अनिलका आँखा पनि ओभाना भएनन् ।

त्यसो त टीभी कार्यक्रममा अनिलबारेको खबर सार्वजनिक भएपछि काभ्रेको एक परिवारले पनि आफ्नै परिवारको सदस्य हुन सक्ने भन्दै दिल्ली पुगेर अनिललाई भेटेको रहेछ । रौतहटको त्यस्तै अर्को परिवारले उसैगरी अनिललाई आफ्नो दाबी गरेको रहेछ । ती परिवारले अनिल हराएको छोरा हुन सक्ने दाबीसहित आश्रममा निवेदन दिएका छन् ।

अनिलमाथि फरक–फरक परिवारको दाबीपछि अलीपुर जिल्लास्थित बालकल्याण समितिले डीएनए परीक्षणबाट मात्र दाबी प्रमाणित गर्न सकिने निर्णय गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले पनि त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न केआई प्रतिनिधि जोशीलाई स्वीकृति दिएको छ । डीएनए परीक्षणको मिति भने अहिलेसम्म तय भएको छैन । कान्तिपुरसँगको कुराकानीमा जोशीले सम्भवतः एक महिनाभित्र डीएनए परीक्षण गरिने सुनाए । तीनै परिवारसँग डीएनए मिलेन भने अनिल अझै एक वर्ष समितिको निगरानीमा आश्रममै रहनेछन् ।

भाइ भेटिएको आशाको त्यान्द्रोमा झुन्डिएकी सुदालाई यतिबेला एउटै चिन्ता छ, डीएनए मिल्छ कि मिल्दैन । मिल्यो भने त भाइसँगै खुसीको बहार मिल्नेछ । मिलेन भने झुन्डिरहेको आशाको त्यान्द्रो पनि च्वाट्टै चुँडिनेछ । ‘डीएनए नमिले पनि अनिल भावनात्मक रूपमा भाइ नै भइसक्यो, रिपोर्टमा जे आए पनि म उसलाई भाइजस्तै माया गर्नेछु,’ आँखा चिम्लेर गला अवरुद्ध पार्दै उनले भनिन्, ‘सर, कृपया प्रार्थना गरिदिनुस्, भाइसँग मेरो डीएनए मिलोस् ।’   साभार: कान्तिपुर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्