यसवर्षको भाईटिका कतिबजे लगाउने ?



काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजूभाईले दिदी–बहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजूभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदी–बहिनीले दाजूभाईलाई टीका लगाएपछि दाजूभाईले पनि दिदी–बहिनीलाई लगाउने गरिन्छ ।

दिदी–बहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनले भने ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्