भाईटिका र प्यारो दाजू



राधिका परियार ।

मेरो दाजू
पाखो खेत साहूलाई धितो राखेर
सन्तानको खुशी खोज्न
अर्काको देशमा आफैलाई बन्दकी राखी
सुन्दर सपना बोकेर
भोको पेट भर्न बुढीआमाको चोली फेर्न,

भाउजूको साडी फेर्ने
नानीलाई नयाँ फराक किनिदिन
भत्किएको घरको भित्ता टाल्ने
फुसको छानो फेर्ने
धेरै–धेरै खुसी र रहरहरु बोकेर
रातलाई पनि दिन बनाउँदै
हरेक दुःख र पीडालाई
खुशीमा बदल्दै
विदेशी माटोलाई पसिनाले
सिचाई गर्दै सुन्दर संसार
सजाउने संकल्प बोकेर विदेशिँदा
मेरो प्यारो दाजूको
कयौं वर्षको भाईटिकामा
निधार खालि नै रह्यो ।

मेरो प्यारो दाजू
कयौं वर्षको भाईटिकामा
तिम्रो दिर्घायूको लागि
तिम्रो रक्षाको लागि
तिम्रा शत्रुको नास गर्दै
शत्रुको प्रतिककोरुपमा
ढोकाको बिच संघारमा ओखर फोडी
तेलको धारहाली दिप बालिरहेँ
तिम्रो जीवन सँधै
सप्तरंगी टिका जस्तै रंगीन बनिरहोस्
सयपत्री र मखमली फूल जस्तै फुलिरहोस्
तिम्रो जीवन दिपावली जस्तै चम्की रहोस्
भनी हरेक भाईटिकामा कामना गरिरहेँ
मेरो प्यारो दाजू
तिम्रो प्रतिक्षामा
तिम्रो अभावमा
हरेक वर्षको भाईटिकामा
तिम्रो तस्विरलाई
सप्तरंगी टिका र मखमली फूलका
मालाले सझाई रहेँ, पूजा गरिरहेँ
कयौं वर्षको भाईटिकामा
परदेशी दाजूको यादमा
तड्पिइ रहेँ ।

मेरो प्यारो दाजू
मैले तिमीबाट कुनै उपहार मागेको छैन
मेरो आँखाले तिमीलाई देख्न पाउँ
केवल तिम्रो निधारमा सप्तरंगी टिका लगाउन पाउँ
मखमली र सयपत्री मालाले तिमीलाई सझाउन पाउँ
मेरो सबै भन्दा ठूलो खुशी यही हुनेछ ।
तिमीबाट आशिरवाद लिन पाउँ ।

प्यारो दाजू
परदेशीएकाहरु गाउँमा आउँदा
तिम्रो बाटो कुरिरहन्छु
तिम्रा साथि र संगी
देउसी र भैलोमा
हाम्रो दैलोमा आउँदा
मेरा आँखाले तिमीलाई खोजी रहन्छन् ।

प्यारो दाजू
फेरि भाईटिकाको बिहानीमा
तिमीसँगै रमाउने
खुसीहरु मनमा साँचेर
मखमली र सयपत्री फूलहरु
हाँसीरहेका छन्
लाखौं इच्छाहरु चङ्गा जस्तै
आकाशमा उडीरहेका छन्
केहि दिन अगाडी
तिमीले गरेको बाचा
प्यारी बहिनी
यो सालको भाईटिकामा जसरी भएपनि आउँछु
खुसीहरु र उपहार ल्याइदिन्छु
दाजू बहिनीको वर्षौंवर्षको माया साटौँला
सयपत्री र मखमलीको माला गाँसौँला
साथिसंगी मिलेर भैलोमा नाचौँला
शब्दको उपहारले
यो सालको भाईटीका धेरै नै रमाइलो हुनेछ
मेरो प्यारो दाजू
आउन त आयौ
आँसुको सागर लिएर
पीडाको पहाड बनेर
हाम्रा सबै रहरहरु
हाम्रा सबै सपनाहरु
हाम्रासबै खुसीहरु र
सबै इच्छाहरु सदाको लागि
अन्त्य गरेर पो आयौ
मेरो प्यारो दाजू
काठको बाकसमा
लासको उपहार बनेर
सँधैको भाईटिका लगाउने
मेरो रहर अन्त्य गरेर आयौ
मेरो प्यारो दाजू ।

{२०७६ साल मंसिर ९ गते मलेसियामा ज्यान गुमाउनु हुने मेरो दाजू लगायत वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजूभाईको सम्झनामा ।}

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्