दुर्घटनामा सञ्चारकर्मी लामिछानेको मृत्यु



घोराही । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ ।

बिजौरीबाट उहाँ कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअक ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।

दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत हुनुहुन्थ्यो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्