काठमाडौँ- कोरोना भाइरसको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ ।
भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने राष्ट्रिय परीक्षा बोर्डले प्रष्ट पारेको छ ।
विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
परीक्षा सञ्चालन हुन लागेका ५० जिल्लाका ढाडाका परीक्षा केन्द्रमा भने प्रश्नपत्र पनि पठाइसकेको पौडेलले बताए ।
नजिकका परीक्षा केन्द्रमा भने परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।
कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।
गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन हुँदैछ ।
परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।