काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार दिउँसो पार्टीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले पार्टीमा उत्पन्न विवादको विषयमा नेताहरूसँग छलफल गरेका हुन। प्रचण्डले महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै भेट गरेका हुन्।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग भएको भेटमा प्रचण्डले पार्टीभित्र केही गम्भीर विवाद देखिए पनि एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्न आग्रह गरेका छन्। नेम्वाङमार्फत अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सन्देश पठाउँदै प्रचण्डले भने, ‘एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नुहोस्। केही गम्भीर भनेर सबैको चर्चा छ। तर, डोरी चुँडिएको छैन। त्यसैले समाधानको बाटो खोज्दै जाऔं। त्यसमा मेरो पनि पनि भूमिका हुन्छ।’
नेम्वाङसँग करिब एक घण्टासम्म भएको भेटघाटमा प्रचण्डले आफूले सचिवालय बैठकमा ल्याएको प्रस्ताव पार्टी विभाजनका लागि नभएको पनि प्रस्ट्याए। आफूले पनि पार्टी एकता जसरी पनि बचाउन आग्रह गरेको नेम्वाङले बताए। स्थायी कमिटीले गरेको निर्णय अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा आफ्नो जोड रहेको उनको भनाई छ। भेटमा पार्टीलाई स्थायी कमिटीले गरेका निर्णयका आधारमा एकजुट बनाएर अघिबढ्नुपर्छ त्यसको विकल्प छैन नभएको बताएका नेता नेम्वाङले बताए।
अध्यक्ष प्रचण्डले नेता सुवासचन्द्र नेम्वाङसँग भेट्नु भन्दा पहिले महासचिव विष्णु पौडेलसँग पनि भेटघाट गरेका थिए। पौडेलले प्रचण्डसँग भेटेर बाहिरिने क्रममा परिस्थिति गम्भीर रहेको प्रतिक्रिया दिएका थिए। पत्रकारसँग उनले भनेका थिए, ‘परिस्थिति गम्भीर छ।’ महासचिवसँगको भेट सकेपछि मात्र अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग भेट गरेका हुन्।
कात्तिक २९ गतेको सचिवालय बैठकका कार्यकारी अध्यक्ष प्रचण्डले छुट्टै राजनीतिक प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाइएको थियो। प्रचण्डको प्रस्तावपछि चर्किएको नेकपाको विवाद मङ्सिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव पेस गर्न १० दिन समय माग गरेपछि विवाद केही मत्थर भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।