सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाईयो



६ मंसिर, वीरगञ्ज । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । वीरगञ्जका छठघाटहरु विशेष किसिमले सजाइएका छैनन् । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको छैन ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् ।

नदी, खोला र पोखरीस्थित छठघाटमा ब्रतालुहरु र दर्शनार्थीहरुको भिड विगतको वर्षमा भन्दा कम देखिएको छ । मास्क अनिवार्य भनिए पनि छठघाटमा मास्क नलगाउनेहरुको संख्या पनि बाक्लो छ । छठघाटमा मास्क निःशुल्क वितरण गरिएको भएपनि अधिकांशले मास्क नलगाएको पाइएको छ ।कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्