सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहार निन्दनीय एवं भर्त्सनायोग्य छःप्रबक्ता श्रेष्ठ



मंसिर७,काठमाण्डौ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्।सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नेकपा प्रवक्ता श्रेष्ठले यस्ता व्यवहारलाई प्रोत्साहित गरेमा कसैको हित नहुने उल्लेख गरेका छन्।

‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कमरेड सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘यसप्रकारको व्यवहार प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’

यसअघि नेकपाका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पनि पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य पाण्डे सहभागी भएको कार्यक्रममा सुनियोजित रूपमा नाराबाजी र अभद्र व्यवहार भएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएका थिए।नेता पाण्डेविरुद्ध पार्टी एकताविरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आक्षेप लगाउने काम मात्र गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओली पक्षीय कार्यकर्ताले नाराबाजी गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्