बुद्ध धर्म मान्दै आएका खसहरु कसरी हिन्दू भए ?

बुद्ध धर्म मानिन्ज्याल रक्तबली बन्द भयो होला । त्यही अप्ठेरोले दूधे मस्टोको आविष्कार भयो होला ।


 चन्द्रप्रकाश बानियाँ । १) बुद्ध धर्मसँगै खस संस्कार र संस्कृतिहरु विस्थापित हुँदै गए । बुद्ध धर्मले खस संस्कृतिलाई खाइदियो । २) तेह्रौं र चौधौं शताब्दीतिर खस राजाहरुले बुद्ध धर्म त्यागेर हिन्दू बने । खस राजाहरु हिन्दू ब्राह्मणहरुको प्रभावमा परेर बुद्ध धर्म मात्र होइन संस्कारहरु पनि परित्याग गरे । रैतिहरुलाई समेत धर्मान्तरणतिर प्रेरित गरे भन्ने कुरा तेह्रौं शताब्दीका गगनी राजले आफ्नो राज्यमा जनै वितरण गरेबाट स्पष्ट हुन्छ । राज्यबाट जनै दिएर वा खोसेर जात उकाल्ने वा जातिच्युत गर्नसक्ने व्यवस्था जङ्गबहादुरको मुलुकी ऐनमा भएबाट त्यो परम्पराले राणाकालसम्म निरन्तरता पाएको जानकारी मिल्छ ।

३) हिन्दू धर्मसँगै संस्कृति र संस्कारको पनि अनुकरण गराइयो । परम्परागत संस्कार संस्कृति मासियो । अवश्य खस धर्म संस्कृतिलाई बुद्ध धर्म संस्कृतिले विस्थापित गर्यो । बुद्ध धर्म संस्कृतिलाई हिन्दू धर्म संस्कृतिले विस्थापित गर्यो तर ३–४ शताब्दी मानेको बुद्ध धर्म संस्कृति खसहरुले सजिलै कसरी परित्याग गरे होलान भन्ने प्रश्न उठ्छ । कुरो के थियो भने हिन्दू संस्कृतिमा कुल देवताको प्रावधान थिएन तर कालक्रममा वैदिक आर्यहरुले पनि ६६ योगिनी (देवी) हरुलाई कुलदेवी भनेर पुज्न थालेका थिए ।

हिन्दू धर्मालम्वीले योगिनीहरुलाई कुलदेवी मान्नुपर्ने चलन भए पनि खसहरुले आफ्नै परम्परागत कुलदेवता मष्टोलाई निरन्तरता दिए । अर्थात वैदिक समाजले समेत कुलदेवी मान्न थालेपछी खसहरुलाई आफ्नो कुलपूजाको परम्परा यथावत राख्न सजिलो भयो । सम्भवतः सबै खसहरु बुद्धमार्गी बनेका थिएनन् । बुद्धमार्गी नबनेका खसहरुले मष्टो मान्थे । हुनसक्छ बुद्ध धर्म मान्दा पनि मष्टो पूजाको परम्परा निरन्तर रह्यो होला । मूलतः मष्टो पूजामा बलि दिइन्छ ।

बुद्ध धर्म मानिन्ज्याल रक्तबली बन्द भयो होला । त्यही अप्ठेरोले दूधे मस्टोको आविष्कार भयो होला । मष्टो पूजामा रक्तबलि दिने परम्पराकै कारणले खसहरुलाई बुद्ध धर्म त्यागेर हिन्दू धर्म ग्रहण गर्न अभिप्रेरित गर्यो होला । धर्मको ठाउँमा धर्म र पुरानो संस्कृतिले पनि निरन्तरता पाउने सजिलोले खसहरुलाई हिन्दू बनायो र मष्टोपूजन पनि जीवित रह्यो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्