प्रधानमन्त्री ओलीले बोलाएपछि देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगे



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तारको प्रयास थालेका छन्। यही क्रममा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।

संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन्। सोही भेटमा ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको कांग्रेसका एक नेताको भनाई छ।

भेटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव समेत राखेका थिए। देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको कांग्रेसको उच्च स्रोतले बतायो। प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतको भनाई छ।

भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए। देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ। यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गरेर आफ्नो पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले घुमाउरो भाषामा सत्ताको जोडघटाउमा कांग्रेस नलागेको पनि उल्लेख गरेका छन्। ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं। अत: यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं,’ शर्माले भनेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्