मागपत्र प्रमाणिकरणमा ढिलाई भएकोमा एसोसिएसकाे गम्भीर ध्यानाकर्षण



विदेशस्थित रोजगारदाता कम्पनीहरुले कतिपय मुलुकहरुबाट कामदार लैजाने प्रक्रिया सुरु गर्दा समेत त्यहाँस्थित नेपाली दुताबासहरुले मागपत्र प्रमाणिकरण नगरेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको नेपाल लोकत्रान्त्रिक वैदेशिक रोजगार ब्यबसायी एसोसिएसनले जनाएको छ ।

‘एकातिर अन्तिम श्रम स्वीकृति सुचारु गर्ने अर्कोतिर सम्बन्धित श्रोत मुलुककको नियम पुरा गरि मागपत्र प्रमाणिकरण नहुने दुबिधायुक्त निर्णयले बेरोजगारको संख्या बृद्धिसँगै बैदेशिक रोजगार ब्यबसायीहरुको मनोबलसमेत खस्कदै गएको छ’ एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘यस विषयमा नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार बिभागसँग अबिलम्ब छलफल गरि उचित निकास निकाल्नको लागि नेपाल बैदेशिक रोजगार ब्यबसायी संघलाई एसोसिएसन जोडदार माग गर्दछ ।’

यस्तै केहि समयदेखि नेपालकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरि भिजिट भिसामा कामका लागि विदेशिनेको संख्या बढेको, केहि कम्पनीहरुको नामसहित कतार रोजगारीमा सिण्डिकेट स्थापना गर्न खोजिएको तथा मागपत्र प्रमाणिकरणमा ढिलाई भएकोमा पनि एसोसिएसनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बिमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा कामदारहरुलाई कुनै भबितब्य पर्न गएमा कुनै पनि क्षतिपुर्ती पाउने कानुनी प्राबधान नभएकोले ठगिमा पर्ने अधिक सम्भावना भएको भन्दै एसोसिएसनले यस्ता ऐन–नियम बिपरितका कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण वैदेशिक रोजगार ब्यबसायीहरु एकजुट हुनुपर्ने बताएको छ ।

एसोसिएसनले यदि यस्ता कार्यहरुमा आफ्ना कुनैपनि सदस्यहरुको संलग्नता देखिएमा त्यस्ता संस्थाहरुको सदस्यता खारेजीदेखि लिएर सरकारसमक्ष कारवाहीको सिफारिससमेत गर्ने जानकारी दिएको छ ।

‘वैदेशिक रोजगार ब्यबसायमा कुनै प्रकारको एकाधिकार, अप्राकृतिक मिलेमोतो जस्ता घृणित कार्यहरुमा लाग्ने तथा गैरकानुनी ढंगमा वैदेशिक रोजगारीमा पठाउने कार्य एसोसिएसनलाई कुनै पनि हालतमा सह्य हँुदैन, यस्ता प्रकारका कार्यमा संलग्न जो कोहिलाई पनि कारबाहीको दायरा भित्र ल्याउनु पर्छ भन्ने हाम्रो ठहर छ’ विज्ञप्तीमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्