आफ्ना नागरिकलाई कोरोना खोप लगाउन अमेरिकाले थाल्यो तयारी



काठमाडौं। अमेरिकाले आफ्ना नागरिकलाई डिसेम्बर दोस्रो साताबाट कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप दिने गरि तयारी थालेको छ। ह्वाइटहाउसद्वारा आइतबार जारी सूचनाअनुसार अमेरिकी नागरिकहरूले डिसेम्बर ११ तारिखसम्ममा कोरोना भाइरसविरुद्धको खोप पाउन सक्ने छन्।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि नै खोप दिने गरि तयारी थालिएको जानकारी दिएका छन्। डा. मोन्सेफ स्लाओइले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई भनेका छन्, ‘खोपले स्वीकृति पाएको २४ घण्टा भित्रै खोप सम्बन्धित क्षेत्रमा पुर्‍याइने छ।’

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको खोप प्रभावकारी देखिएको छ। गत शुक्रबार अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र जर्मनीको साझेदार कम्पनी बायोएनटेकले आपतकालीन प्रयोगका लागि खोप लगाउन अमेरिकी खाद्य तथा खौषधि प्रशासनसँग (एफडिए) सँग अनुमति मागेका थिए।

यही विषयमा छलफल गर्न एफडिएले १० डिसेम्बरमा बैठक बोलाएको छ। दुई डोज दिइनु पर्ने सो खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ। परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी-सेलहरू आफैँ बनाउँछ। यो वर्षको अन्त्यसम्ममा फाइजरले खोपको पाँच करोड डोज उत्पादन गर्ने अपेक्षा रहेको उल्लेख गरेको छ। अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

आउने केही हप्ताभित्र उसले पनि आफ्नो खोपको स्वीकृति खोज्ने ठानिएको छ। कोभिड-१९ बाट अहिलेसम्म दुई लाख ५६ हजार सात सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्