पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु



पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

त्यस्तै यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको थियो।

प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको उपचारको लागि मेट्रोमा लगिएको प्रवक्ता हमालले बताए।

अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ। उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ।

‘ल्यान्ड हुनु पर्ने स्थानभन्दा डेढ-दुई किलोमिटर माथि खसेको हो। क्याम चोक भन्ने ठाउँमा खसेको हो,’ उनले भने,’के कति उचाइबाट खसेको र कसरी खसेको भन्ने अनुसन्धान भइरहेको छ।’

यात्रु श्रेष्ठ साथीहरूसँग गएको आशंका गरिएको छ। यद्यपी अहिलेसम्म कोही सम्पर्कमा नआएको प्रवक्ता हमालले बताए।

उनका आफन्त भने सम्पर्कमा आइसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्