खराब मौसमका कारण नेपाल भारत सीमा क्षेत्र अवलोकन नगरी फर्कियो प्रधानमन्त्री सवार हेलिकप्टर



प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ। इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो।

प्रधानमन्त्री ओली जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो।बाक्लो कुहिरो र हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे। प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बू, काजीमान कागते र धीरेन्द्र शर्मा रमण, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, सशस्त्र प्रहरी बराह बाहिनीपति वंशीराज दाहाल, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएसँगै जनताले सुरक्षित महशुस गर्ने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्