पार्टीमा विचार, विधि, पद्धति र संस्थागत प्रणालीलाई स्थापित गर्न बहसको आवश्यकता : नेता जनार्दन शर्मा



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अहिलेको मुख्य एजेन्डा संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत शर्माले सो कुरा बताएका हुन्।

पार्टीमा विचार, विधि, पद्धति र संस्थागत प्रणालीलाई स्थापित गर्न बहसको आवश्यकता उनले औँल्याए। पार्टी एकतामा पैदा भएको संकट समाधानको एक मात्र बाटो बहस भएको शर्माको भनाई थियो।

उनले लेखेका छन्, ‘पार्टी एकतामा पैदा भएको संकट समाधान विचार, विधि, पद्धति र संस्थागत प्रणालीलाई स्थापित गर्न बहसका बिचबाट निष्कर्ष निकाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा अहिलेको मुख्य एजेन्डा हो।’

नेता शर्माले आफू आजबाट नियमित काम फर्किएको पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए। कोरोना संक्रमण मुक्त भएपछि चिकित्सकको सल्लाह बमोजिम नियमित काममा फर्किएको उनले बताएका छन्।

उनले लेखेका छन्, ‘चिकित्सकको सल्लाह अनुसार आजबाट नियमित कार्यमा पुर्णरुपले लाग्ने छु।’ शर्मालाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस यता उनी नियमित काममा छैन। अहिले नेकपा आन्तरिक विवादमा रुमलिएको छ। शीर्ष नेताबीचको विवाद समाधानका लागि दोस्रो तहका नेताहरूले दौडधुप जारी राखेका छन्। नेता शर्मा पनि दोस्रो तहका प्रभावशाली नेता मध्येका एक हुन्।

उनी तत्कालिन नेकपा विवाद समाधान कार्यदलका सदस्य पनि थिए। त्यति बेला कार्यदलले दिएको सुझावपछि पार्टीभित्रको विवाद समाधान भएको थियो। फेरि शीर्ष नेतृत्वबीच संकटको स्थिति सिर्जना भएपछि उक्त कार्यदलले विवाद समाधानका लागि सक्रियता देखाउन थालेको थियो। सोहीक्रममा नेता शर्मालाई कोरोना संक्रमण भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्