कोरोनाको खोप बजारमा आउनेबित्तिकै नेपालीले पनि पाउँछन्ः मन्त्री ढकाल



काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन्।

गत मंसिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्वप्रति-जैविक सचेतना सप्ताह’को समापन कार्यक्रममा उनले कोभिड-१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त खोपको सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताएका छन्। उनले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताएका छन्।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको थियो। सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो।

प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय भएका छन्। मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरेका छन्। २८ जना सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्