महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिका हुनुपर्छः राष्ट्रपति भण्डारी



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिका हुनुपर्ने बताएकी छन्।

हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाहरुको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण हुनुपर्ने बताएकी हुन्।

‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा सन्देश जारी गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छिन्। बोक्सी, छाउपडी, दाइजो तथा तिलक जस्ता कुरीति र कुप्रथालाई कानूनले निषेध गरे पनि धेरै दिदीबहिनी हिंसा र अपमानबाट गुज्रिरहनु परेको उनले उल्लेख गरेकी छिन्।

“घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलत्कारजस्ता जघन्य हिंसा निर्मुलन गर्ने सरकारका प्रयासहरु पूर्ण रुपमा सफल बनाउन समाजका सबै पक्षहरु त्यत्तिकै सक्रिय हुनुपर्छ”, राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष २५ नोभेम्बरलाई ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने निर्णय गरेको हो। यही दिनदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान पनि शुरु हुन्छ। यो अभियान विश्व मानवअधिकार दिवस १० डिसेम्बरमा समापन गरिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्