मन्दिरको पृष्ठभूमिमा चुम्बन गरेको दृश्य समावेश भएपछि नेटफ्लिक्सविरुद्ध उजुरी



एजेन्सी। भारतमा अनलाइन स्ट्रिमिङ वेबसाइट नेटफ्लिक्सविरुद्ध उजुरी दर्ता भएको छ। नेटफ्लिक्सको एक सिरिज ‘अ सुटेबल बोय’मा मन्दिरको पृष्ठभूमिमा चुम्बन गरेको दृश्य समावेश भएपछि उजुरी परेको हो। मन्दिरको पृष्ठभूमिमा हिन्दु केटीले मुस्लिम केटालाई चुम्बन गरेको दृश्य समावेश गरेर धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै भारतीय जनता पार्टी भाजपाका युवा नेता गौरव तिवारीले उजुरी दर्ता गरेका हुन्।

उनले भारतीय दण्डसंहिताको दफा २९५ मा व्यवस्था भएको धार्मिक भावनाको अपमान विरुद्धको सजायअन्तर्गत कारबाहीको माग गरेका छन्। चलचित्रको माध्यबाट हिन्दु धर्म माथिको आस्थामा खलल पुर्‍याउन खोजेको दाबीसहित हिन्दु राष्ट्रवादी पार्टीको ठहर छ।

‘सार्वजनिक भएको त्यस चलचित्रमा एकदमै आपत्तिजनक दृश्य छ जसले हिन्दु धर्मालम्बीहरुको आस्थामा चोट पुर्‍याउँछ, यसका निर्माता र निर्देशकलाई हदैसम्मको कारबाहीको लागि म निर्देशन दिन्छु,’ मध्य प्रदेशका आन्तरिक मामिला मन्त्री नरोत्तम मिश्रले ट्वीट गरेका छन्।

यता उजुरी गरेका तिवारीले फिल्मले प्रेम जिहादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्। हिन्दु अतिवादीको केही समूहले मुस्लिमले हिन्दु महिलालाई इस्लाममा आवद्ध गराउनका निम्ति प्रेम गरेको आरोप लगाइरहेका छन्। यसैलाई उनीहरूले प्रेम जिहादको संज्ञा दिएका दिएका छन्।

भारतमा यसविरुद्ध कानुन बनाउन हिन्दु अतिवादीहरूले माग गरिरहेका छन् तर सुरक्षा निकायका केहीले भने यसलाई सत्तारुढ दल भाजपाको मुस्लिम विरुद्धको नीतिका रूपमा समेत व्याख्या गरेका छन्। अ सुइटेबल ब्वाय भारतीय लेखक विक्रम सेठको उपन्यासमा आधारित चलचित्र हो। यसलाई मिरा नैरले निर्देशन गरेकी हुन्।

मीराले निर्देशन गरेकी चलचित्र सलाम मुम्बई, मनसुन विडिङ र द नेमसेकले समीक्षकबाट गतिलै तारिफ बटुलेका थिए। यो चलचित्र सार्वजनिक भएपछि ट्वीटरमा धेरै भारतीयहरूले नेटफ्लिक्सलाई बहिष्कार गर्नुपर्ने आवाज समेत उठाएका छन्। बेलाबखतमा यस्तै विवाद आएपछि भारत सरकारले नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र वाल्ट डिज्नीलाई अनुगमन गर्ने कानुन समेत बनाएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्