न्यौपानेलाई शहीद घोषणा गर्ने सहमतिपछि आन्दोलन स्थगित



काठमाडौं । बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएलगत्तै दुई दिनसम्म चर्किएको आन्दोलन साम्य हुने भएको छ । बालिकाका हत्यारा र बालिकाको न्यायका लागि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्ने सहित र्सवपक्षीय समितिसँग सहमति पछि आन्दोलन स्थगित भएको हो ।

बुधबार बर्दिबासमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र सुरक्षा निकायका प्रमुख र आन्दोलनकारीको तर्फबाट गठित भएको सर्वदलीय समितिसँग भएको वार्तामा सहमति जुटेको जनाइएको छ ।

बर्दिबासमा भएको ६ वर्षीय बालिका हत्या प्रकरणमा सत्यतथ्य निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवार्ही, प्रदर्शनको क्रममा प्रहरीबाट गोली लागि घाइते भएकाहरूको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने, तथा मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयबाट नेपाल सरकारलाई अनुरोध जिल्ला प्रशासन कार्यालय महोत्तरीले गर्ने भएपछि तत्कालको लागि आन्दोलन स्थगित भएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

त्यस्तै प्रहरीले चलाएको गोली लागि स्थानीयवासी सञ्जयको मृत्यु र केही प्रदर्शनकारी घाइते भएकाहरुको हकमा समेत छानबिन समिति गठन गर्नका लागि नेपाल सरकारसँग अनुरोध गर्ने सहमति जुटेको सर्वपक्षीय समितिका संयोजक चिरञ्जीवी हमालले जानकारी दिए ।

आन्दोलनकारीहरुको तर्पmबाट नेपाली कांग्रेसका नेता समेत रहेका संयोजक हमालले प्रहरी–प्रशासनसँग सहमति गरेपनि आन्दोलन रोकिनेमा आशंका व्यक्त गरिएको छ ।

केही व्यक्तिहरूले आन्दोलन नरोक्ने बताए पनि भोलि उनीहरू सडकमा उत्रिएको खण्डमा आफूहरुले सम्झाउने बुझाउने समेत दुई पक्ष बीच सहमति भएको छ । सो सहमतिको क्रममा आन्दोलनरत्त पक्षबाट वार्ता टोलीका १३ जना र सरकारी टोलीमा प्रमुख जिल्ला अधिकारी कटुवाल, सुरक्षा निकायका प्रमुखहरुको समेत हस्ताक्षर भएको आन्दोलनकारीका अगुवाहरुको भनाइ छ ।

बर्दिबास वडा नम्बर १४ स्थित शुभम बस्तीमा बस्ने शहीद खातुनका ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको आशंकामा दुई दिन देखि कडा आन्दोलन हुँदै आएको थियो ।

बालिकाको हत्याको विरोधमा मंगलवार बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा स्थानीय संजय न्यौपानेको मृत्यु भएको थियो । उनको मृत्यूपछि स्थानीयवासीहरु आक्रोशित हुँदै बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग सहित सम्पूर्ण सडकहरु जाम गरेका थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्