काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न उपयुक्त हुने बताएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका निराशाजनक भएको उल्लेख छ।
‘प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रणका लागि पटक पटक घोषणा गरेका छन्, तर उनको प्रशासनले यसका लागि निकै कम काम गरेको छ,’ प्रतिवेदन भन्छ, ‘बरु, भ्रष्टाचारको आरोप लागेका आफ्ना सहकर्मीको प्रतिरक्षा गर्न प्रधानमन्त्री आफैँ अघि सर्ने गरेका छन्। स्वतन्त्र न्यायिक प्रणालीले अनुसन्धान गर्न नपाउँदै प्रधानमन्त्रीले आफ्ना सहकर्मीलाई सफाइ दिने गरेका छन्।’
ट्रान्सपरेन्सीको प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारसम्बन्धी संगीन आरोप लागेकोले नैतिकताका आधारमा पदत्याग गर्नु उपयुक्त हुने भट्टराईको भनाई छ। सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर भट्टराईले अन्तर्राष्ट्रिय जगतमा भ्रष्टाचारसम्बन्धी संगीन आरोप लागेपछि ओलीले अब प्रायश्चित गर्नुपर्ने बताए। उनले भनेका छन्, ‘प्रममा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।’
उनले भ्रष्ट्राचार नियन्त्रणको लागि प्रशासकीय संरचनामा परिवर्तन, जनलोकपाल गठन र निर्वाचन प्रणालीमा सुधार गर्नु आवश्यकता रहेको विषय पुनः दोहोर्याएका छन्। उनले भनेका छन्, ‘यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है: १. शासकीय स्वरूप, २. निर्वाचन प्रणाली, ३. जनलोकपाल, ४. आर्थिक विकास।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।