काठमाडौँ– भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।
उनी चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् । यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुनेछ ।
भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही साताअघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमणपछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका विषयमा विवाद भइरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ ।काठमाडौंस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।