काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउन साझा प्रयास जरूरी रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको साधारण उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकिएपछि अर्थतन्त्रको पुनर्उत्थानमा केन्द्रित हुनुपर्ने बताए।
उनले अर्थतन्त्रमा परेको प्रभावबाट मुक्ति दिलाउन सरकार लागेको पनि बताए। ‘महामारीको कारणले अर्थतन्त्रमा परेको प्रभावलाई कसरी छुटाउने र त्यसबाट कसरी रिकभर गर्ने भन्ने विषयमा केन्द्रित हुनुपरेको छ,’ उनले भने, ‘अर्थतन्त्रलाई पहिले जुन गति दिन खोजेका थियौं, त्यस गतिमा फेरि कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएका छन्।’
उनले साझा प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउन सरकारलाई सहयोग गर्न पनि अनुरोध गरे। विकसित मुलुकले विभिन्न प्याकेज ल्याएको भए पनि नेपाल सरकारको क्षमता कम भएकाले गच्छे अनुसार अपेक्षा गर्न उनले उद्योगी, व्यवसायीलाई आग्रह गरे। ‘अभिभावकको क्षमता अनुसार अपेक्षा गर्न अनुरोध गर्दछु,’ ओलीले भने। उनले संयुक्त प्रयासबाटै कोभिडको समस्या समाधान गर्नुपर्ने बताए।
उनले अगाडि भनेका छन्, ‘गत आर्थिक वर्षमा ८.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थियौं। तर, हामी लगभग शून्यको स्थितिमा पुग्यौं। तर पनि विश्वका सबै देश ठूलो आर्थिक नोक्सानीमा पुगेको छ। त्यसलाई हेरेर नेपालको मात्रै नभई विश्वभरको अर्थतन्त्र ध्वस्त भएको भनेर सन्तुष्ट हुनुपर्छ। धनी मुलुकहरूले धेरै बचत गरेर राखेका थिए। तर, हामीसँग बचत गर्न सक्ने स्थिति छैन। त्यसैले हामीलाई बढी समस्या पर्छ।’
महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ। निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्। ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।