पहिलो प्रेमको गर्भपतन



सुबिन बिश्वकर्मा ‘लुते’
‘पहिलो भेट भएछ है पानीपधेरीमा…’ बस टक्क रोकियो । बस रोकिएकाले हैन्, ‘मन मेरो अल्झेछ है तिम्रो पच्छेउरीमा ।’ भन्न नपाई गीत रोकिएकाले मेरा आँखा खुले । ढोकाछेउको सिटमा भएकाले खुल्नेबित्तिकै मेरा आँखा बस चड्न तर्खर गर्दै गरेको एउटा आकृतीमा ठोक्कियो । गुलाबी ओठ, रेशमी कपाल, स्याउ जस्तै लाग्ने राता गाला, ठुला–ठुला आँखामा मेरो नजर जुध्यो । त्यो सुन्दर लाग्ने आकृती मेरै छेउमा आयो ।
‘एक्सक्युज मी । म विन्डो सिटमा बस्न सक्छु, प्लिज ।’

म झस्किए । थाहा छैन, उसको आवाज नै मीठो थियो या मलाई त्यो आवाज मीठो लाग्यो । म किन धेरै बोल्नु थियो र? केही नभनी मुन्टो हल्लाए मात्र । भर्खरै नुहाएर आएकी हुँदी हो, कपालबाट मगमग पर्फ्युम आइरहेको थियो । रातो कुर्ता, रातै सलवार । त्यसमा रातै पच्छेउरी ओडेको थिइ उसले । रातै कलरको लिप्स्टिक ओठबाट चुइएला जस्तो देखिदैथ्यो । पुरै रातै भएर रहेकी थिई । मानौं, जग्गेमा बस्न ठिक्क परेकी छ ।

अब बस सुस्तरी दौडिन थाल्यो । एकपटक चारैतिर नजर फाले मैले । पछाडिपट्टी केटीहरुको हुल थियो । आफ्नै गफमा मस्त थिए उनीहरु । तिनै मस्त रहेका केटीहरुसँग जिस्किदै थिए, छेउमा बसेका ठिटाहरु । अगाडितिर चाहिँ बुढाबुढी बसेका थिए । सायद उनीहरु निदाइसकेका हुँदा हुन् । बीचतिरको सिटमा पुगेपछि मेरा नजर एकछिनलाई रोकिए । उनीहरु प्रेमिल जोडि थिए क्यारे ! केटी भोमिट गरिरहेथी । केटाले उसको टाउको समायो । एकछिनमा थोरै कम भएपछि मायाले अंगालीरहेथ्यो, उसले । त्यो देखेर मेरो मनमा पनि केही कुराहरु गुज्रिएको हुँदो हो सायद ।

अक्सर केटी जाति धेरै बोल्ने स्वाभावका हुन्छन् । र, चञ्चल पनि । मेरो छेउमा बसेकी त्यो केटी पनि त्यस्तै रहिछ । ब्यागबाट मोबाइल झिकेर कानमा इएरफोन कोची । उसले मतिर हेर्दै सुन्ने? भनिकन गीत बजाउन लागि । सुरुमै बज्दैथ्यो, जस्टिन बिबरको, लेट मि लभ यु… । ‘मलाई यस्तो गीत मन पर्दैनन् नि’ भनेर भन्न पनि सकिन अनि नसुनी बस्न पनि सकिन । एकछिनसम्म गीतहरु बजिरहे । तर हामी बज्न सकेनौ, एकअर्कासँग । शरीरसँग स्पर्श भयो । आँखा–आँखाको कुरा भयो । सायद मनले पनि बात गरिसकेका हुँदा हुन् । तर हाम्रो आवाज आएन । केटी बहादुर रहिछ । यतिन्जेल मैले गर्न नसकेको कुरा गरेर देखाई ।

‘हामी अबको ७ घन्टा सँगै रहनेछौ । तर अफसोच ! मुर्तीसरी रहेर । हेल्लो । माई नेम इज बर्षा ।’
उसले आफ्नो नाम भनेकी होकि मलाई मेरो नाम सोधेकी अर्को पटक कन्फ्युज भए । तर भन्नू नै थियो सायद । त्यसैले भनिदिए ।
‘म बादल बिश्वकर्मा ।’

‘जिन्दगीको गोरेटोमा जति मान्छे चिन्यो, त्यति काम लाग्छन् ।’उसले कपाल पछाडि लादै भनी, ‘अझ मजस्तो मजाको मान्छे चिन्नु त धेरै राम्रो ।‘
म मुस्काए मात्र ।
फ्रेन्डस ? उसले हात अगि सारी । फ्रेन्डस । मैले हात मिलाए । मेन गेट खुलिसकेपछी सानातिना ढोका खोल्न किन बेर ? मैले आफ्नो बारेमा बताए ।
‘अघिल्लोपटक काठमाडौको एक मल्टिनेसनल कम्पनीमा अन्तरबार्ता दिएर आको । हिजो फोन गरेर बोलाउनुभयो । त्यसैले कामको लागि जादैछु ।’
स्वाभाविकै अब उसले आफ्नो बारेमा बताउनुथियो ।

‘म पनि केटिएम हिडेको’ उसले यति मात्र भनी । एकछिनमा खाना खाने ठाउँमा रोकियौं हामी । सबैजना हिडिसकेपछी पनि उ निस्किइन । मैले सोधे, नजाने? भोमिट हुन्छ मलाई त्यसैले खाना नखाने, उसले भनी । म हिड्न खोज्दैथे । उसले भनी, ‘गाँस छोड्नु साथ नछोड्नु भन्छन्, भर्खरै बनाको साथी भुलेको?’ म अवाक भए ।

खानलाई सकिएपछि गाडी दौडियो । नभन्दै एकघन्टा गाडी दौडिएसी उसलाई भोमिट हुन थाल्यो । म मात्र दर्शक बनिरहेथे । फेरि सम्झे त्यो प्रेमिल जोडीलाई । र, समाए उसको टाउकोलाई । त्यसपछि उ मेरो अंगालोमा यसरी सुती कि मानौं म अपरिचित नभएर वर्षौदेखिको उसको प्रेमी हुँ । मलाई पनि निद्रा नलागेको त हैन तर रातभर उ मेरो अंगालोमा थिई । म सुत्न पाइन । बिहानीपख थोरै निदाएछु । खलासीले ‘कोटेश्वर आयो है’ भनेपछि ब्युंझिए । दायाँबायाँ सबैतिर हेरे । त्यो केटीलाई देखिन । पछि थाहा पाए, उ सल्लाघारीमै उत्रिसकिछ । तर एकवचन जान्छु नभनी गइ । मन चिसो भयो ।

बसबाट निस्केर सिधै कोठामा गए । भोक लागेजस्तो हुँदैथियो । खाना बनाए । खाए र दिनभर सुतिदिए । बेल्का ५ बजे ब्युंझिएछु । फोन हेरेको घरबाट कति धेरै फोन आइसक्या रहेछ । ओहो! म पनि कति भुस्कुल भको । भोक र निन्द्राले घरमा फोन गर्नै भुलेछु । घरमा फोन गरेर सकुशल आइपुगेको बताएपछि एक कप चिया लगेर छतमा चडे । चिया पिउँदै एकचोटि वरिपरि हेरे, त्यो काठमाडौ शहरलाई । भोलिदेखी अफिस जोइन गर्ने दिन थोरै उत्साह, थोरै डर लिएर समयमै सुते । भोलिपल्ट अफिस गएर रिसेप्सनमा गएर आफ्नो बारेमा बताएपछि मलाई म्यानेजरको रुम जान भनियो । म्यानेजरको रुममा गएर ढोका नक गरे । भित्रै आउनुस, ढोका खुल्लै छ, भन्यो कसैले । तर म त्यो कोठामा भएको आकृतिलाई देखेर अर्को पटक अवाक बनिरहे । बेलाबेलामा आफूले आफैलाई चिमोट्दैथे पनि । जो म्यानेजरको कुर्सीमा त्यही केटी बसेकी थिई जसलाई मैले बसमा भेटे ।

‘सरप्राइज’ ठुलै स्वरमा भनी उसले । ‘चिया, कफी के मगाउ, मिस्टर बादल बिश्वकर्मालाई?’
मैले भने ‘हैन भैगो ।’

उसले कर गरेपछि चिया पियौ, हामीले । चिया पिएर उसले मेरो हातै समाएर अफिस घुमाई । एकएकलाई चिनाईदिई ।
केही दिनमै हामी म्यानेजर र एक साधारण कामदारको सम्बन्ध मिल्ने साथीको जस्तै बन्यो ।

दिनहरु बित्दै थिए । घरबाट दिदिले फोन गरिरहन्थी । र, म पनि । हामी दिदि भाईको सम्बन्ध यति प्रिय थियो कि मानौं त्यसखाले सम्बन्ध संसारमा अरु कसैको हुनेछैन ।

सदिच्छा परियार । मेरो छेउको फ्याल्टमा बस्छिन । बिहान ब्रश गर्दा र बेलुका कामबाट आएपछि भेट हुन्छ । उनले एकदिन यतिकै सोधिन, ‘बादल जि ! हजुर किन सधै बिहान र बेलुका घरमा फोन गर्नुहुन्छ ?’

मैले उसको आँखामा हेरेर भने, ‘यसै पनि फेसबुक र इन्स्टामा दुनियाँलाई गुड मर्निङ र गुड नाइट भनेर हामी टाइम पास गरिरहेकै हुन्छौ । त्यो समय मेरो घरपरिवारलाई दिन चाहान्छु । होम शिक पनि नहुने, माया बढ्ने पनि ।’
कुन अक्केजन आउँदैथ्यो, ठ्याक्कै सम्झिन सकिन । तर धेरैजसो कर्मचारी बिदामा थिए । त्यो दिन पनि अफिसमा हामी दुईजना र अरुअरु मात्र थिए । उ मेरो छेउमै आएर भनी, ‘हजुरलाई एउटा रिक्वेस्ट गर्न आको ।’ अच्च्मीत हुँदै सोधे, के? मुस्काउदै भनी उसले, ‘नगरकोट जाम । काम–काम भनेर वाक्क लागिराछ ।’ मैले सहजै ‘हुन्छ’ भनिदिए ।

उसले स्कुटर स्टार्ट गरि । जसै प्रेमिल जोडीहरुको बस्ने ठाउँ त्यो नगरकोट । चाडपर्व नजिकिँदै गरेको त्यो समय झन हेरिरहु लाग्ने भएको थियो, नगरकोट । काठमाडौलाई हलुका जाडोले छुन सुरु गरिसकेको थियो । कफी पियौँ । ऊ ड्रेसअपमा धेरै मेहनती थिइ भनौं या जे लगाएपनी उसको शरीरमा पुगेपछि राम्रो देखिन थाल्थ्यो । एकअर्कालाई धीत पुगुन्जेल हेर्यौ । अफिसबाट वाक्क भएर गएका हामी अफिसको कुरा गर्ने त कुरै भएन । घरपरिवारको कुरा गर्यौ । थोरै मायाका पनि कुरा गर्यौ । र, घर फर्कियौ ।

जति दिनहरु बित्दै थिए, हामी नजिकिँदै थियौ । छुट्टीमा सँगै घुम्न जाने, उ मेरो फ्याल्टमा आउने, म उसको फ्याल्टमा आउने क्रम बिस्तारै बढ्दै थियो । कहिलेकाही सोच्ने गर्थे, ‘यो के भैरहेछ ? आखिर के सम्बन्ध छ, यो केटीसँग ? उसको याद मलाई किन यतिधेरै आउछ ? मलाई मात्र यस्तो हुन्छ कि उसलाई पनि मलाई जस्तै हुदो हो ?’मैले अर्को दिन अफिसमा कोहि नभएको मौका छोप्ने निर्णय गरे । र भने,‘मलाई हजुरसँग एउटा अर्जेन्ट नै त नभनौ तर स्पेसल कुरा गर्नु छ ।’

‘तर मलाई हजुरसँग केही कुरा गर्नु छैन ।’
मैले कारण सोधे । झर्किदै भनी उसले, ‘एउटै कुरा कति भन्नू हम? मलाई मिस, तपाईं नभन्नु भनेको हैन?’
म मुस्काइदिए । ‘अबदेखी भन्दिन नि, बरु नरिसाउने पो होकि ?’
‘यस्तो भनेको पनि धेरैपटक नै भैसक्यो । अब त भन्दाभन्दै थालिसके ।’ हैरान लागेर भनी उसले, ‘जेजे मन लाग्छ त्यही भन्नुस । बरु के स्पेसल भन्ने भनेको हैन?’
मैले भने, ‘यहाँ हैन, अन्तै कहिँ ।’
त्यसो भा हाम्रो जक्सन जाम ।
सधैझैं त्यही स्थान, त्यही मान्छे र परिवेश पनि त्यही । तर त्यो दिन मलाई अर्कै फिल भइरहेथ्यो । त्यो दिन पनि कफी पियौँ । अरु थुप्रै कुरा भए । उसले सोधी, ‘अनि स्पेसल कुरा खै त ?’ म निकै बहादुर थिए जस्तो लाग्थ्यो तर हैन, प्रेमको मामलामा बहादुर मान्छे पनि पानीमरुवा हुने रछ ।

म हड्बडाएको देखेर उसले मेरो हात समाई । ‘हजुरलाई के भयो आज ? सन्चो छैन हो?’
मैले उसको आँखामा नहेरी हात जोड्ले हात समाएर भने, म तिमीलाई प्रेम गर्छु ।
उ बेस्सरी हासी । दिल खोलेर हासी । अनि कसैको प्रवाह नगरी धेरैबेर हासी । वरिपरिको वातावरण उसको हासोमय भयो । मुटुको धड्कन बेस्सरी चल्न थाल्यो । शरीर तातो भयो । तर मैले उसको आँखामा हेर्न सकिन ।
उसले टाइट हग गरेर भनी, ‘लभ यु मोर पागल । यति भन्न हजुरलाई यत्रो समय लाग्यो है? म यहि शब्द हजुरको मुखबाट सुन्नको लागि कति धेरै तड्पिराथे था छ? लभ यु धेरैधेरै ।’
एक्कासी म मुस्काएछु । भनें, ‘मतलब? यु अल्सो लभ मी?’
अंगालोबाट छुटाउदै उसले भनी, ‘यतिधेरै संगत गर्दा पनि बुझ्नु भएन है? म धेरै समय अघिदेखी हजुरलाई माया गर्थे र हजुरले भन्नूहोस भन्ने चाहान्थे । धेरै खुसी छु नि म । त्यो माथीको डाडामा गएर गएर फलानो आइ लभ यु भन्न मन छ ।’
‘भन्दा भैहाल्यो नि, कस्ले रोकेको छर?’ म जिस्किदिए ।
अब त अफिस पनि झन सुन्दर लाग्न थाल्यो । अरुलाई सनिवार कहिले आउँछ हुन्थ्यो । हामीलाई अफिस कतिबेला लाग्छ हुन थाल्यो । अफिसबाट सुरु भएको प्रेम अफिसमा कसरी लुक्न सक्थ्यो र? अझ त्यसमा पनि सँगै खाजा जानू, अफिसियल कामको बहानामा सँगै बस्नु, नजाँनिदो पाराले एकअर्कालाई लुकेर हेर्नू ले त झन मान्छेलाई शंका गर्नमा कसैले रोक्न सक्दैन्थ्यो ।
एकदिन एउटाले उसलाई असजिलो ठाउँमा छुएछ । जिस्काएछ । सायद उसलाई गारो हुँदैथ्यो । उसले रुदै मलाई सुनाइ । मैले बेसमारी हिर्काइदिए । मेरो जागिर खोसियो । जागिर मेरो खोसियो, राजीनामा उसले दिई । सायद उसको प्रेम त्यहाँ पनि छल्किदैथ्यो, या मलाई त्यस्तो लाग्दैथ्यो ।
यति भन्छु, हाम्रो प्रेम निकै गहिरिएको थियो । के कुराले आकर्षित गरायो उसङ्ग हजार पटक सोच्ने गर्छु । उसको रुप, यौवन देखेर एक नजरमा प्रेम भयो भनेर बक्वास कुरा म गर्दिन । तर केही त पक्कै थियो जस्ले यति बलियो बन्धनमा बाध्यो । सायद उसलाई भेटेर प्रेम हुनु नै थियो । र, भयो ।

एकदिन राती २ बजे कस्तो नराम्रो सपना देखे । के गरौं, कसो गरौं भयो । उसलाई मेसेज गरेर बताएँ । ‘नडराउनुन म छु नि, म हुन्जेल तपाईंलाई केही हुन दिन्न । किन डराको? सपनासँग पनि कोहि डराउछन् त?’
मलाई त्यो दिन फिल भयो । मेरो लागि पनि कोहि थिएछ ।
हामी प्रेमको नशामा यसरी बग्दैथियौ कि नदिलाई समुन्द्रमा पुग्नुपर्नेछ । तर त्यो दिन…। मलाई अझै याद छ । त्यो दिन हामी गोदाबारीमा थियौँ । उ मेरो अंगालोमा थिई । मेरो मोबाइलको मेसेज ट्युन बज्यो । मोबाइल उसकै हातमा थ्यो । उसले मेसेज पढी ।
‘मलाई था छ नि । पराइको भाको छस बोलाउन अधिकार त नदेलास तर अन्तिम एकपटक त्यो अधिकार हत्याउन मन लागेको छ । प्लिज ! मसँग बोलिदे न है एकछिन । म तँसँंग दया माग्छु ।’
उसले त्यो मेसेज देखेर जस्तो प्रतिक्रिया देखाउने मैले सोचेको थिए, उसले त्यो मेसेज देखेर जस्तो प्रतिक्रिया देखाउने मैले सोचेको थिए, उसले त्यसो गरिन । उ एकदमै सामान्य भैदिई । मैले सोचे म धेरै भाग्यमानी प्राणी हो जो यतिधेरै बुझ्ने मान्छे पाएको छु । केहिबेरको बसाइपछी हामी फर्कियौँ ।
कोठा पुगेर मैले मेसेज गरे, पुग्यौ? उसले रिप्लाई गरिन । सायद कहिँ कतै बिजि छ होला, मैले यस्तै सोचे । अर्कोदिन उ अफिस आइन । मैले बिस्तारै फिल गर्न थाले । उ परिवर्तन भइसकिछ । बोलाउदा झर्किन थाली । जुन कुरामा पनि त्यही मेसेजको कुरा निकाल्थी । भन्नलाई त भन्थी, ‘म चेन्ज भको छैन हौ, आजभोलि काम धेरै भएकाले अलि फुर्सद नभको मात्र हो ।’ तर मेरो मनले यो कुरालाई स्विकारेन । मनले मात्र हैन, उसको व्यबहारले पनि हैन भन्थ्यो । उ सानै कुरामा रिसाउन थालेकी थिई । मेरो फ्याल्ट आउनु उसको लागि परको कुरा भैसकेको थियो । मैले यो सब सहन नसकेर एकदिन उसको रुममा गए । देख्नेबित्तिकै उसले मलाई भनी । ‘अलिकति पनि मेरो माया लाग्छ भने त्यसको बारेमा नढाटेर भन्नुस नत्र हजुर यहाँबाट गैहाल्नुस । म अरु सहन सक्दिन ।’
मैले हात समाएर छतमा लगे र उसको शिरमा हात राखेर कसम खाए । जसरी अदालतमा बयानकर्ताले गीतामा राखेर कसम खाने गर्छ ।
‘म जे बोल्छु सत्य बोल्छु ।’
सुरु गरे आफ्नो रामकहानी ।

उसको नाम अर्पना हो । अर्पना शर्मा । झन्डै चारवर्ष अगाडि हाम्रो भेट कलेजमा भएको हो । भेटेको केही समयमै हाम्रो सम्बन्ध गहिरिदै थियो । उसले मलाई असल साथी ठान्थी । हरेक कुराहरु सुनाउँथी म भन्दिन, तर सुनाउनुपर्ने कुरा सुनाउँथी । तर भन्छन् नि,
‘एउटा केटामान्छे र केटीमान्छेको बीचमा साथीकै सम्बन्ध किन नहोस तर त्यस्ले ढिलो चाडो प्रेमको रुप लिदै जान्छ ।’
मैले उसलाई बिस्तारै साथी कम प्रेमिका बढी देख्न थालिसकेको थिए । मेरो भाग्य भनौं या दुर्भाग्य त्यो प्रेमको झिल्को दुबैतिर जल्न थालेको थिएछ । जसरी सेकेन्ड, मिनेट, घन्टा हुँदै दिन बिथ्यो, हाम्रो प्रेम झन झांगिदै थियो । दिनहरु बित्दै जाँदा यस्तो पनि भयो, दशैको टिकाको दिनसमेत नभेटी हाम्रो मनले मानेन ।
मान्छेहरु भन्छन्, ‘जन्म र मृत्यु जीवनमा एकपटक हुन्छ ।’ तर म भन्छु,
‘जन्म, मृत्यु र प्रेम जीवनमा एकपटक हुन्छ । यदि कसैले धेरै पटक प्रेम भयो भन्छ भने त्यो व्यक्ति सरासर झुट बोल्दैछ जस्तो लाग्छ । तिमीलाई यो सब सुनिरहदा नमिठो लाग्ला तर जीवनमा एकपटक हुने प्रेम मेरी अर्पणासँगै भयो ।’
सिक्काको दुई पाटो हुन्छ भनेझैं एकातिर दिनानुदिन प्रेम झांगिदै थियो भने अर्कातर्फ उसको परिवार धेरै कन्जर्भेटिभ सोचाइले ग्रस्त थिए । हामीबीचमा जात नमिल्नु अर्को बाधा थियो ।
दुईजना लोग्नेमान्छे बेस्सरी टाउको फुट्नेगरी झगडा गरिरहेको छ भने कसैले वास्ता नगरी हिड्न्छन तर त्यही ठाउँमा दुईजना केटा र केटी हात समाएर बसिरहेका छन भने मात्र पनि लुकिलुकी हेर्छन र कुरा काट्न थाल्छन। यस्तै छ, हाम्रो समाज । त्यही समाजमा हाम्रो बीचको जातलाई लिएर धेरैपटक समाजमा कुरा काटिन थालिएछ । तर हामी रत्तिभर तितरबितर भएनौं ।

बेलाबेला मेरो मन चोर्न उ भन्ने गर्थी, ‘कतै मेरो फ्यामिलीले हाम्लाई छुटाउनुभयो भने?’
‘खतरासँग खेल्ने बानी छ नि मेरो । त्यसैपनी सिधा बाटोले गन्तव्यसम्म पुर्याउँदैन नि । प्रेममा अलिअली बाधा भएन भने त्यो प्रेम के प्रेम? इतिहास साक्षी छ, प्रेमको अगाडि दुनियाँ झुकेको छ । केही बाधा–अर्चन आउँछन् तर तीनिहरु आफै थाक्नेछन् । म छु नि ।’
मैले यसो भनिरहँदा उ भन्थी, ‘म छु नि! भन्ने शब्दमा कति तागत छ नि? सधै यसरी नै भनिराख है?’
म बस मुन्टो मात्र हल्लाइदिन्थे ।

दुनियाँको कुनै पनि तागतले टुट्दैन भनिएको सम्बन्धलाई अन्ततः उसको एउटा बानीले ध्वस्ताउँदै गयो । सुरुसुरुमा ठिकै थियो, सुधार्न सक्छु जस्तो लाग्थ्यो तर बिस्तारै झन बढ्दै गएसी मैले केही गर्न सकिन । उ धेरै शंका गर्थी ।
म बारबार सोध्थे, ‘तोलाई मेरो विश्वास छैन ?’ उ भन्थी, ‘आफूभन्दा बढी विश्वास छ । तर बोल्दाबोल्दै अरु कसैको हुन्छस कि भनेर गुमाउने डरले शंका गरेको हो । फेरि मलाई तेरो पो विश्वास छ त, दुनियाँको विश्वास छैन नि कान्छा ।’
उसको यस्तो जवाफ सुनेर एकैछिनमा पग्लिन्थें म । आज सिलाएको उसको मन अर्को दिन फेरि प्वाल पर्थ्यो । सधै उसको मन टाल्न सक्ने सामर्थ्य सकिदै गएछ सायद । यति चाडै थाक्ने मेरो प्रेम त्यति कमजोर त थिएन । तर मनै थाकेपछी कसैको केही नलाग्ने रहेछ ।
थाहा छ वर्षा? मान्छेहरु भन्छन् नि, जोसँग तिमी हाँसेको छौ, त्यसलाई भुल्न सक्छौ तर जोसँग तिमी रोएको छौ, उसलाई भुल्न निकै गारो पर्नेछ । सायद त्यस्तै भयो मलाई । तर जे परिआउछ ब्यहोर्नै पर्ने रहेछ जीवनमा । बिस्तारै मलाई उसको नशा उत्रिदै थियो । उसको शंका गर्ने बानीले म आजित थिए, चाहेर पनि केही गर्न नसक्ने । बिस्तारै म आफै टाढिदै गए, त्यो मेरो बाध्यता थियो ।

त्यो एकदिनको कुरा हो । म धेरै ठूलो प्रब्लेममा थिए । उसलाई फोन गरेर सुनाए । तर उसले त्यहाँ पनि उसको बानी प्रदर्शन गरिहाली ।
मैले सोचे, आखिर प्रेम भनेको नै सपोर्ट त होनि, मलाई दुःख, पीडा परेको बेला साथ दिदैनौ भने मलाई तिम्रो प्रेम चाहिदैन ! आफ्नो आवश्यक्ता र स्वार्थमा उदाउँदो र अरुबेला अस्ताउने प्रेमको के अर्थ जीवनमा ? अन्ततः वर्षौ लगाएर हुर्काएको त्यो प्रेमको रुख एक्कासि नमज्जाले भाचियो । जब कोहि व्यक्तिसँग बिचार, अन्डर्स्टान्डिङ नै मिल्दैन भने सँगै सहयात्रा गरेर केही फाइदा छैन भन्ने बुझेर हामीले सहमतिमा अलग हुने निर्णय लियौ । उसले जीवनभर मलाई दोष दिईरही ।

तर मलाई भने जीवनभर खड्किरहयो । आखिर यति नजिक भएर पनि किन बुझ्न सकिन उसले? किन विश्वास गरिन ? बस यहि प्रश्नले धेरै पिरोल्ने गर्छ, आजभोलि । त्यसपछि उसले पनि मलाई खोजिन र सायद मैले पनि खोजिन । उ आफ्नो दुनियाँमा मलाई दोष दिएर रमाइरही तर म…। न उसलाई दोष दिनु या आफैलाई ? तर अझै पनि कहिँ कतै उसको धेरै याद आउँछ । सायद उसलाई पनि आउँदो हो ।
आजभोलि खुसी त धेरै कुरामा हुन्छु । तर खै किन हो, उ खुसी नभइ हास्नै सक्दैन । कहिलेकाही सपनामा देख्छु, बिपनामा संम्भव छैन थाहा छ । तर फोटो हेर्छु, त्यसलाई कस्सेर अंगालो हाल्छु अनि माया गर्छु । एकमनले नसोचेको पनि हैन् बोलाउ कि भनेर तर अर्को मन भन्छ, हैन बादल हैन, ऊ आफ्नै जीवनमा रमाइरहेकी होला किन डिस्ट्रब गर्छस् । यसरी बित्दै गए, त्यी दिनहरु ।

तर मलाई अझै याद छ । अन्तिम पटकको त्यो फोन संवाद । उसले भनी,
छकान्छा ! मलाई अन्तिमपटक बुडी भनेर बोला न । अनि तेरो कसम ! कहिल्यै तेरो जीवनमा डिस्टर्ब गर्न आउदिन । कहिल्यै सताउदिन । कहिल्यै दुख दिन्न । तर बुडी भनिदेन प्लिज ।’
म सायद मनमनै धेरै कुरा भन्न चाहान्थे तर यति भने, ‘मुझे तुम्हारा बोहोत याद आती, बुडी ।’
यसरी आफ्नो कहानी भनिसकेर लामो श्वास लिए । पछाडी फर्केर हेर्दा बर्षा त्यहाँ थिइन । यता उता चारैतिर उसलाई देखिन । म छक्क परे । फोन गरे, अफ थियो । अफिसमा सबैलाई सोधे, पत्ता लागेन । पछी मेरो ज्याकेटको पोकेटमा एउटा चिठी जस्तो कागज देखे । लेखिएको थियो,
‘डियर बादल! सर्वप्रथम माफी चाहान्छु । हजुरको पुरै कुरा सुन्न नपाई मैले आफूलाई सम्हाल्न सकिन । हजुर आफ्नो बिगतमा बाच्न चाहानुहुन्छ । म अब डिस्टर्ब गर्दिन । आफ्नो जीवन आफ्नो तरिकाले जिउन पाउँनुपर्छ । सधै खुसी हुनुस । मैले तपाईंलाई त्यो खुसी दिन सक्दिन जुन खुसी तपाईंले उ बाट पाउँनुहुन्छ । अहिले आएर बुझे, म दुईजनाको बीचमा आएको रहेछु । अनि अर्को कुरा, हजुरलाई मेरो कसम अब मलाई नखोज्नु । अलबिदा हजुर । यो जुनीलाई बिदा ।’

थुप्रै दिन मैले धुनीपत्ताल खोजे उसलाई । धेरै भौतारिए । धेरै तड्पिए । तर मेरो भागमा दुखशिवाय केही रहेन । बिस्तारै गारो हुँदै गयो । दिनहरु पनि बर्षजस्तै लामा र भारिला हुँदै गए । उसको याद पलपलमा आउथ्यो ।

साला! घरीघरी त आफैदेखी यति रिस उठ्थ्यो नि..! कुनै सिमा नै थिएन । सम्झिन लायक संसारमा यति धेरै कुराहरु छन, यति धेरै आफन्त छन, माया गर्ने मान्छे छन । तर मेरो मन किन उसलाई मात्र सम्झिन्छ?
तर हैन, म भित्र उसलाई माया गर्ने मन पनि छ नि । ‘अरबौ मान्छेहरूको भिडमा भएको एकजना मान्छेको मनभित्र पनि एकदुई जना मान्छेको मात्र नाम हुन्छ ! र, उसको मन त्यही एउटै मान्छेको परिधी वरिपरि घुमिरहेको हुन्छ ।’ माया गर्नेको मनको जवाफ ।
दिमागले भन्छ, ‘किन उ तेरो जीवनमा आउनुभन्दा पहिला खुसी थिएनस र ? जीवनमा कोबाट गल्ती हुँदैन र ? त्यतीमै हात छोड्नेले झन अरु ठूलो कुरामा कसरी साथ देलान् र ? किनकी उसलाई जानू मात्र छ रत गइ । बस्नेहरु जति ठूलो झगडा भएनी बस्छन् र जानेहरु बहाना खोजेर बसेका हुन्छन् । साच्चै माया गर्थी त किन जान्थी सोच त? पहिलो प्रेमलाई नै गर्भपतन गराइसकेको छस, बुझ न बाकी सब नाटक हो । यसलाई पनि गर्भपतन गरिदे । बिर्से दे उसलाई पनि ।‘

उसलाई माया गर्ने मन भन्छ, ‘खुकुरीको चोट अचानोलाई के थाहा? प्रेम मैले गरेको हो । गुमाउदा चोट पनि मलाई लागेको छ । त्यो दिमागलाई बोलिदिन के छ र? भुलिदे अरे! भुल्न कति गारो हुन्छ, त्यो मलाई थाहा छ । हेर बादल, जा खोज उसलाई । उसले धेरै प्रेम गर्छे तलाई ।’
दिमाग र मनको यो विश्वयुद्धमा म कसलाई मानौँ ? उफ! जिन्दगी सहज छैन थाहा थियो तर कति गारो रहेछ आज बुझे । हुन त हो पनि । बसमा भेटिएकोलाई बसमै सीमित राख्नु पर्ने गल्ती गरे मैले जो उसलाई मनको सिंहसानमा रानी बनाएर राखे । जीवन अर्को पटक नराम्रोगरि बजारिएको थियो । यसपटक उठ्न सक्ने तागत नै थिएन । फेरि दिमागले पनि त भन्दैथियो, –जे भयो राम्रो भयो, यदि उसले छोडेर नगएको भए जीवन के हो बुझ्ने नै थिएन मैले ।’

यसरी चल्दैथ्यो जीवन । त्यो भाइटिकाको अघिल्लो दिन । बाहिर तिहारको झिलिमिली थियो तर मेरो मन पुरै अँध्यारो । मेरा बुबा–ममि मेरो सामुन्नेमा रुइदिदा मात्र रुने म । त्यो दिन थाहै नपाई आँसु चुइएछ । रोएर त आमाबाबुलाई मात्र जित्न सकिन्छ, संसार जित्नलाई त हास्नैपर्ने रहेछ भनेर बुझ्दै गए र मुभ अन हुन थाले । जो चोट सहने बानी परेर पनि अझ बलियो हुँदै थिए । सबैलाई ढाट्न सके पनि मान्छेले आफूलाई कहिल्यै छल्न नसक्ने रहेछ । आफूबाट भागेर कहाँ जानू र? उसको कारणले अलिकति कमजोर अवश्य हुँदै थिए ।
यतिकैमा अननाउन नम्बरबाट फोन आयो । रिसिभ गरे ।

‘हेल्लो’––
‘आइ वान्ट टु मिट यु, राइट नाउ । योर वर्षा ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्