प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक सन्देश पठाएका छन् । ओलीले सीमा लगायत सबै समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई पठाएका हुन् ।
आफूसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरेका छन् ।
भेटको शुरुमै सचिव श्रृङ्गलाले भारतीय प्रम मोदीले दुई देशबीचको आपसी सम्बन्धलाई राम्रो बनाएर लैजान चाहेको सन्देश ओलीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।
यसअघि भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए । सोही वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।