भारतीय विदेश सचिव श्रृंगला भेटवार्तामा के कुराकानी भए ?(१९ बुँदामा)



काठमाडौं। एक वर्ष लामो संवादहीनता तोड्दै नेपाल र भारतबीच औपचारिक रुपमा संवादको सुरुवात भएको छ। भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला बिहीबार दुई दिने नेपाल भ्रमणमा आएसँगै संवादको सुरुवात भएको हो। उनी बिहीबार उच्चस्तरीय भेटघाटमा व्यस्त रहे।

भारतीय विदेश सचिव श्रृंगलाले समकक्षी भरतराज पौडेलसँग दुईपक्षिय भेटघाट गरे। भेटमा समग्र द्विपक्षीय सम्बन्धको पुनरावलोकन भयो। साथै, व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, इनर्जी, संस्कृति, कृषि, लगानी लगायतका विषयमा कुराकानी भयो।

बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग पनि भेटवार्ता गरेका थिए। शुक्रबार काठमाडौंको सोल्टी होटल, गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन्।

उक्त भेटवार्तामा के कुराकानी भए ?

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले समकक्षी भरतराज पौडेलसँग दुईपक्षिय भेटघाट गरे । सो भेटमा समग्र द्विपक्षीय सम्बन्धको पुनरावलोकन भयो । साथै, व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, इनर्जी, संस्कृति, कृषि, लगानी लगायतका विषयमा कुराकानी भयो ।

उनीहरुको बिचमा नेपाल र भारतबीच लामो समयदेखि रहेको सांस्कृतिक र सभ्यताको सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भयो । भेटमा भारतीय विदेश सचिवले भारतको बजार र अर्थतन्त्रबाट सकेसम्म बढी फाइदा लिन नेपाललाई आग्रह गरेका थिए ।

दुई मुलुकले कनेक्टिभिटी र भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा अहिलेसम्म भएका प्रगतिहरुको समीक्षा गरे ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दुई देशको बिचमा रहेको सीमा विवाद र प्रवुद्ध समूहको प्रतिवेदनको विषयमा भारतीय विदेश सचिवसँग स्पष्ट कुरा राखे । उनले ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा नेपालले सीमा विवादको समाधान गर्न चाहेको सन्देश दिए ।

कोभिड–१९ को सम्बन्धमा दुई मुलुकको बिचमा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा छलफल भयो । भारतले दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण ग¥यो र कोभिडको खोप बनेपछि नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन भारतले दियो । सबैभन्दा बढी खोप उत्पादन गर्न लागेको जानकारी भारतीय विदेश सचिवले दिएका छन् ।

दुई देशको बिचमा नक्सा विवादको बारेमा पनि कुराकानी भयो । नेपाली पक्षले सबै भेटमा यो विषय उठायो । भारतीय पक्षले यो विषय वार्ता मार्फत् राजनीतिक तहमा समाधान गर्ने जवाफ दियो । यो विषय वार्ताको टेबलमा प्रवेश गरेको छ । अब हुने परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो विषयमा ठोस कुराकानी हुने अपेक्षा छ । तर यस अगाडि जस्तो ठोस रुपमा सुस्ता र कालापानीको विषयलाई भने विज्ञप्तिमा उल्लेख गरिएन ।

भारतले नयाँ दिल्लीमा आयोजना हुने परराष्ट्रमन्त्री स्तरीय बैठकको लागि नेपाललाई निम्तो दिएको छ । मन्त्री ज्ञवाली डिसेम्बर दोस्रो साता बैठकमा भाग लिन दिल्ली जाने छन् । दुवै देशका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने संयुक्त कमिसनको बैठकले सबै द्विपक्षीय विषयमा छलफल गर्नेछ । सो कमिसनको पछिल्लो बैठक सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई सुधार गर्न चाहेको र उच्च तहमा भ्रमण आदान प्रदान गर्नुपर्छ भनी पठाएको सन्देश भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाए । ओलीले पनि आफू भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चाहेको सन्देश दिए । प्रधानमन्त्री ओलीले सीमा विवाद वार्ताद्वारा समाधान गर्न चाहेको स्पष्ट सन्देश भारतलाई दिए । ओलीले भारतसँगका इनगेजमेन्ट उच्च तहमा बढाउन चाहेको धारणा व्यक्त गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा पनि सीमा विवादको विषयमा कुरा भयो । भेटमा भारतीय विदेश सचिव श्रृंगलाले दुई देशको बिचमा विगत एक वर्षमा केही समस्या देखिएकोबारे आफूलाई जानकारी भएको र त्यसलाई वार्ताबाट नै समाधान गर्नुपर्ने बताए । भारतीय विदेश सचिवले भारतका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई पठाएको सन्देश सुनाएका थिए ।

द्विपक्षीय भेटवार्तामा पञ्चेश्वर परियोजनालाई पनि अगाडि बढाउने विषयमा छलफल भयो । अब पञ्चेश्वरको डिपिआरका बाँकी विषयमा कुराकानी अगाडि बढ्ने अधिकारीहरु बताउँछन् ।

भारतीय विदेश सचिवले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग पनि भेटघाट गरेका छन् । देउवाले दुई देशको बिचमा उच्च राजनीतिक तहमा संवाद आवश्यक भएको बताए । भेटमा देउवाले रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई पनि आमन्त्रण गरेका थिए । देउवाले भेटमा पञ्चेश्वर परियोजनाको विषयलाई बढी जोड दिएका थिए ।

भेटमा भारतीय पक्षले कोभिडको अति संकटको समयमा पनि नेपालसँगको सप्लाई प्रणालीमा कुनै पनि समस्या आउन नदिएको नेपाली पक्षलाई बताएको थियो ।

सबै भेटमा भारतीय विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिए ।

शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धमा एक प्रवचन दिने छन् ।

त्यसपछि गोरखामा भारतीय सहयोगमा निर्माण भएको आवासहरुको हस्तान्तरण सम्बन्धी एक कार्यक्रममा उनी सहभागी हुन गोर्खा जिल्ला जाने कार्यक्रम छ ।

त्यसैगरी भारतीय सहयोगमा मनाङमा निर्माण भएको एक गुम्बाको काठमाडौंबाट नै उनले उदघाट्न गर्नेछन् ।

दुई देशको बिचमा उच्च तहमा भ्रमणको आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो जुन केही महिनामा प्रधानमन्त्रीकै तहमा हुनसक्छ ।

त्यसैगरी नेपाल र भारतको विचमा एयर बबल उडानको विषयमा पनि कुराकानी भएको थियो ।

सुरक्षाको विषयमा एक अर्काको संवेदनशीलतालाई सम्मान र सम्बोधन गर्ने विषयमा पनि कुराकानी भएको थियो । यस विषयमा विस्तृतमा केही बताइएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्