भारतीय विदेश सचिवले देउवालाई भेटे तर सीमा विवाद बारे कुरै भएन



काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले कांग्रेस शीर्ष नेताहरुसँग शिष्टाचार गरेका छन् । भेटवार्तामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए । विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न बिहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए ।

करिब आधाघण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए । यद्यपि सीमा विवादको विषयमा भने कुराकानी नभएको ती नेताले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेस सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए । भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईका अनुसार दुवै देशबीच बाँकी रहेका मुद्दा आपसी छलफलबाट समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि कुराकानी भएको थियो ।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने कुुरामा जोड दिएका थिए । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगला दुईदिवसीय भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आएका थिए ।

उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेट गरेका थिए । शुक्रबार गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्