नबराज हत्याप्रकरणका अभियुक्तलाई एक लाख धरौटीमा छोड्न उच्च अदालत सुर्खेतको आदेश



सुर्खेतः रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त मध्येका ५ जनासँग उच्च अदालत सुर्खेतले जनही १-१ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा १-१ लाख धरौटी माग गरेको हो ।

यसअघि सोती घटनाका विषयमा तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका ६ जनालाई थुनामै राखेर कारवाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो ।

असोज २५ गतेको संयुक्त इजलासमा तत्कालीन मुख्यन्यायाधीश चुडालले सर्वजीत भनिने सविन पुनसहित भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई साधारण तारेखमा छोड्नुपर्ने राय पेस गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेस गरेका थिए ।

उच्च अदालत सुर्खेतका प्रवक्ता थिरेन्द्र सुवेदीले संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै मुख्यन्यायाधीशको एकल इजलासले ६ जनामध्येका १ सविन पुनलाई थुनामै राख्न र बाँकी ५ जनालाई धरौटीमा छोड्न आदेश दिएको जानकारी दिए ।

सुवेदीका अनुसार सबै न्यायाधीशहरुको राय बाझिएकाले यो मुद्दालाई सर्वाेच्चमा पठाइने छ ।

मुख्यन्यायाधीश सुवेदीको एकल इजलासबाट अन्य ५ जनाले घटना हुँदाका बखत आफूहरु ढुंगा खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थित भई बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टि नभएको आधारमा पछि ठहरे बमोजिम हुने गरी हाललाई जनही १–१ लाख धरौटीमा छोड्न आदेश भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्