‘युवासँग आग्रहः गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ!’ : डा. बाबुराम भट्टराई



काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्ला राजनीतिक उपलब्धिहरूको रक्षा निम्ति युवाहरूसँग आह्वान गरेका छन्। जनआन्दोलनको झल्को दिने गरी पछिल्लो समय हिन्दु राज्य र राजतन्त्रको पक्षमा देशभर प्रदर्शन भएपछि भट्टराईले राजनीतिक उपलब्धिहरूको रक्षाका निम्ति आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले रिसको झोकमा राजनीतिक उपलब्धिलाई छोडेर राजतन्त्रको पक्षमा नउभिन आग्रह गरे। उनले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताए। उनले लेखेका छन्, ‘युवासँग आग्रहः गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ!’

अहिलेको उपलब्धिलाई आधा गिलासको संज्ञा दिँदै भट्टराईले उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्न युवाहरूलाई सुझाव दिए। रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पुरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको उनले बताए। उनले लेखेका छन्, ‘अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पुरै गिलास खाली होस्!’

उनले अगाडिको स्यालसँग लड्डा पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाव दिए। भट्टराईले लेखेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाँसो नबिर्सौं! दुबैसँग लडेर अघि जाने साहस गरौँ!’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्