ईश्वर पोखरेललाई वामदेवको जवाफ : ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट उपाध्यक्ष बामदेव गौतमले ओलीलाई दुवै पदबाट हटाउन चाहेको बताएका छन्।

शुक्रबार साँझ गौतमलाई भेट्न भैँसेपाटी पुगेका उपप्रधानमन्त्री तथा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेललाई गौतमले त्यस्तो जवाफ दिएको स्रोत बताउँछ। स्रोतका अनुसार नेता पोखरेलले गौतमलाई प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेका थिए।

तर गौतमले पोखरेलको आग्रह अस्वीकार गरी आफूहरुले ओलीलाई दुवै पदबाट हटाउन चाहेको र त्यो मात्रै पार्टी एकताको अन्तिम विकल्प भएको स्रोत बताउँछ।

‘हामीले ओलीलाई धेरै पटक मौका दिएको हो। ओलीबाट हामी अपमानित मात्रै भयौँ। अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ’ गौतमको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। यस्तै गौतमले नेता पोखरेललाई पनि पार्टी एकताका लागि आफ्नो समूहमा आउन आग्रहसमेत गरेका थिए।

ओलीसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थनमा गौतम उत्रिएपछि ओली हाल सचिवालयमा अल्मतमा परेका छन्। ९ सदस्यीय सचिवालयमा हाल ओलीविरुद्ध पाँच नेता उभिएका छन्। सचिवालयको आज बैठक बस्दै छ। बैठकमा ओलीले प्रचण्डलाई जवाफ दिन तयार पारेको प्रस्ताव पेश गर्दैछन्।

स्रोतका अनुसार आजको बैठकका लागि प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक प्रस्ताव तयार पारिसकेका छन्। प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको खण्डनमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। प्रस्तावमा ओलीले प्रचण्डको प्रस्तावको जवाफका साथै भावी कार्ययोजनासमेत प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा रहेका कारण उपाध्यक्ष गौतमलाई फकाउन आफूनिकटका नेताहरु परिचालन गरिरहेका छन्। सचिवालयमा आफ्नो बहुमत पुर्‍याउन सके वा बराबरी मत प्राप्त गर्नसके प्रचण्डको प्रस्ताव सचिवालयबाटै फिर्ता गराउने ओलीको रणनीति थियो। तर, अब ओलीको यो सुत्रले काम गर्नसक्ने अवस्था छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्