‘आगामी दुई वर्षको बजेटले देशमा ठूलो परिवर्तन गर्न सकिन्छ’ : भुसाल



चितवन। कृषि मन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपाले अहिले प्राप्त गरेको हैसियत गुम्ने खतरा रहेको बताएका छन्। शनिबार भरतपुरमा अगुवा कार्यकर्तासँग भुसालले पार्टीले पाएको ऐतिहासिक अवसर गुम्ने खतरा औंल्याए।

उनले भने, ‘हामीले आज प्राप्त गरेको हैसियत सधैं पाइँदैन। पाएको ऐतिहासिक अवसर गुम्दैछ। हिजोका सरकारको तुलनामा धेरै काम भए पनि हुनुपर्ने जति काम भएन।’ बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेकोसमेत उनले बताए।

भुसालले समस्या समाधानका लागि नेतृत्वले पार्टीलाई कस्तो रुपमा अघि बढाउने भन्ने कुरा स्पष्ट हुनुपर्ने धारणा राखे। ‘पार्टी एकजुट भएर अघि बढ्यो भने अझै पनि धेरै सम्भावना छ,’ उनले भने, ‘आगामी दुई वर्षको बजेटले देशमा ठूलो परिवर्तन गर्न सकिन्छ।’ पार्टीमा दलाल पुँजीपति हावी हुँदै गएकोले गुटबन्दी बढेकोसमेत उनले टिप्पणी गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्