नेकपाको सचिवालय बैठक सकियो, ओलीले पेश गरे यस्ताे राजनीतिक प्रस्ताव



काठमाडौं, १३ मंसीर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय कमिटीको बैठक सकिएको छ। दिउँसो १ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक भर्खरै सकिएको हो।

आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रस्ताव पेश गरेका थिए। बैठकमा ओली र प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमाथि सामान्य छलफल भए पनि सचिवालयका सदस्यहरुलाई अध्ययनका लागि समय दिइएको छ।

नेकपाको सचिवालयको अर्को बैठक मंसीर १६ गते बस्नेछ। १६ गते बस्ने बैठकमा सचिवालय सदस्यहरुले ओली र प्रचण्डले पेश गरेका प्रस्तावमाथि बिस्तारमा आफ्नो धारणा राख्नेछन्। सचिवालयका नेताहरुलाई अध्ययनको निम्ति १६ गतेसम्मको समय दिइएको हो।

१६ गते बैठकमा दुवै प्रतिवेदनमाथि छलफल भएपछि अलग अलग प्रस्ताव स्थायी समितिमा लैजाने वा एकीकृत प्रस्ताव तयार पार्ने भन्ने कुरा टुंगो लाग्नेछ। तर, प्रचण्ड-नेपाल समूहले दुवै प्रस्तावमाथि छलफल हुनुपर्ने र निर्णयार्थ पेश गर्ने अडान लिँदै आएको छ।

नेकपाले मंसीर १८ गते पार्टी स्थायी समिति र मंसीर २५ गतेका लागि केन्द्रीय समितिको बैठक आव्हान गरिसकेको छ। १८ गतेको स्थायी समितिमा थप छलफल गरेपछि प्रचण्ड र ओलीका दुवै प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत हुनेछन्। प्रस्तावमाथि सबै केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावमाथि आफ्नो मत राख्नेछन् र प्रस्तावहरु बैठकमा निर्णयार्थ पेश हुनेछन्। त्यसपछि बैठकले ओली र प्रचण्डमध्ये एउटाको प्रस्ताव पारित गर्नेछ र अल्पमतको प्रस्तावलाई अस्वीकृत गर्नेछ।

हालसम्म नेकपाको ९ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपाल समूहको प्रष्ट बहुमत छ। झण्डै दुईतिहाइ नेताहरु आफ्नो पक्षमा भएकाले सचिवालयले प्रचण्डको प्रस्ताव अनुमोदन गर्ने निश्चितजस्तै छ। त्यसैगरि ४४ सदस्यीय स्थायी समितिमा पनि प्रचण्ड समूह प्रष्ट बहुमतमा छ। ४४ जना नेतामध्ये ३१ जना नेताहरु प्रचण्ड–नेपाल समूहमा छन्। यसअघि गत भदौमा भएको बैठकमा २६ जना नेताहरु त प्रचण्ड–नेपालले आव्हान गरेको बैठकमा उपस्थित भइसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्