ओलीले बाँडे बन्द खाममा राखेर प्रतिवेदन



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले बेग्ला-बेग्लै पेस गरेका प्रतिवेदनमाथि मंसिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले पेस गरेको प्रतिवेदन अध्ययन गरेर छलफल गर्न १६ गतेसम्मका लागि बैठक सारिएको हो।

आजको बैठकमा प्रधानमन्त्री ओली प्रचण्डले उठाएका प्रश्नको लिखित जवाफ पेस गरेका थिए। बालुवाटारमा शनिवार दिउँसो १ बजे बसेको बैठक करिब दुई घण्टापछि अन्त्य भएको थियो। तर ओलीले पेस गरेको प्रतिवेदनमा के लेखिएको छ भन्ने विषय स्पष्ट हुन सकेको छैन।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कमरेड अध्यक्ष ओलीले पेस गरेको प्रस्ताव अध्ययन गरेर कसरी अगाडि बढ्ने, त्यसका लागि आगामी १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुमबाराहीमा सचिवालय बैठक बस्ने निर्णय गरिएको छ। प्रस्ताव हेर्न पाइएको छैन, त्यो बन्द खाममा प्राप्त छ।’

आजको बैठकमा अध्यक्षद्वय ओली-प्रचण्ड तथा वरिष्ठ नेता र उपाध्यक्षले पार्टी एकतालाई बल दिनुपर्ने र विवादित विषय छलफल बहसबाट टुंग्याउनु पर्ने धारणा व्यक्त गरेको उनले बताए। ओली र प्रचण्डबाट आएका प्रस्ताव अध्ययन गरी मंसिर १६ गते केन्द्रीय सचिवालय बैठकमा छलफल हुने र आवश्यक पर्दा त्यसलाई भोलिपल्ट पनि निरन्तरता दिन सकिने उनले बताए।

पार्टीको अहिलेको प्रयास संकट समाधानकै लागि भएको श्रेष्ठको भनाइ छ। सही दिशा दिन पार्टी प्रतिबद्ध रहेको उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार मंसिर १८ गते स्थायी कमिटी र त्यसको एक सातामा केन्द्रीय कमिटीको बैठक निर्धारित छ, जहाँ छलफलको क्रम जारी रहनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्